Banijya News

शेयरबजारमा बजेटको नकारात्मक प्रभाव, पुँजीगत लाभकरले बनायो निराश

1
1.0K Shares

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपश्चात बजार खुलेको पहिलो दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । बजेटअघिको अन्तिम कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से यस दिन भने घटेर बन्द भएको हो ।

गत शुक्रबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारसम्बन्धि राम्रा व्यवस्थाहरु घोषणा गरेका थिए । लगानीकर्ताहरुले लामो समयदेखि माग गरिरहेको पूँजीगत लाभकर नै अन्तिम हो भन्ने अर्थमन्त्रीले घोषणा गरे । जसलाई सकारात्मक रुपमा लिए पनि आर्थिक विधेयकमार्फत पूँजीगत लाभकर २.५ प्रतिशतविन्दुले बढाएका कारण लगानीकर्ताहरु निराश भएका हुन् । जसको प्रत्यक्ष प्रभाव आजको शेयरबजारमा पर्न गयो । बजेटमार्फत सरकारले अल्पकालिन पूँजीगत लाभकर ७.५ प्रतिशत र दीर्घकालिन १० प्रतिशत पुर्याएको छ ।

आज सोमबार नेप्से परिसूचक २६.७२ अंक घटेर २७५५.३७ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक घटेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । गत बुधबार ६ अर्ब ३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

नेप्से घटेपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कालिञ्चोक हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबारमा आएको बुंगल हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक १३.२० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४३ करोड ४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे २५ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ६.१४ प्रतिशत घटेको छ । आज होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

1

Scroll to Top