लामो समयदेखि ट्रायल पास गरेर पनि ड्राइभिङ लाइसेन्स पाउन नसक्दा कागजको टुक्रा देखाएरै हिँड्नुपर्ने बाध्यता थियो । स्मार्ट ड्राइभिङ लाइसेन्स कुरेर बसेका लाखौं सेवाग्राहीले अब धेरै समय कुर्नु नपर्ने भएको छ ।
लाइसेन्स छपाइमा वर्षौं ढिलाइ हुँदा धेरै सेवाग्राहीको लाइसेन्सको अवधि कार्ड हातमा नपर्दै सकिन लागेको वा सकिसकेको अवस्था छ । त्यसो त, नवीकरणको म्याद एक वर्ष वा ६ महिनाभन्दा कम बाँकी रहेका सेवाग्राहीको लाइसेन्स छाप्ने कि नछाप्ने भन्ने विषयमा विभागको ठोस निर्णय आउन बाँकी नै छ । विशेषगरी विदेश जाने सेवाग्राहीले छोटो समयका लागि भए पनि लाइसेन्स माग गर्ने गरेकाले उनीहरूलाई म्याद थप गर्न लगाएर कार्ड उपलब्ध गराउने सोचमा विभाग रहेको बताइएको छ ।
त्यस्ता सेवाग्राहीले पुनः नवीकरण गरेपछि मात्रै छाप्ने बताइएको छ । पुनः नवीकरण गर्दा सिधै १० वर्षे अवधिको नयाँ लाइसेन्स पाउने व्यवस्था मिलाइने विभागका निर्देशक केशव खतिवडाले बताए । खतिवडाका अनुसार १ वर्षभन्दा कम म्याद बाँकी भएका लाइसेन्स ३ देखि ४ लाखको हाराहारीमा बाँकी रहेका छन् ।
यातायात व्यवस्था विभागले चार वर्षयता ट्रायल पास भएका सेवाग्राहीका कुल २९ लाख प्रति लाइसेन्स छाप्नुपर्ने दायित्व बोकेको थियो । स्मार्ट कार्डको चरम अभाव र छपाइमा देखिएको सुस्तता चिर्दै विभाग र सुरक्षण मुद्रण केन्द्रले छपाइ कार्यलाई अन्तिम चरणमा पुर्याएका छन् ।
मुद्रण केन्द्रका अनुसार हालसम्म १५ लाख ७० हजार प्रति स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भइसकेको छ । बाँकी रहेका कार्डहरू अब २ देखि ३ हप्ताभित्रै छापिसक्ने गरी काम भइरहेको बताइएको छ । केन्द्रले अहिले दैनिक ४० हजारसम्मको दरले लाइसेन्स छापिरहेको छ । छपाइका लागि आवश्यक कार्ड अभाव नरहेको र विभागबाट डाटा प्राप्त हुनासाथ केन्द्रले तत्काल छपाइ सुरु गर्ने गरेको छ ।
केन्द्रले विभागसँग गरेको सम्झौताअनुसार पहिलो चरणमा १२ लाख र दोस्रो चरणमा १७ लाख कार्ड छाप्ने जिम्मेवारी पाएको थियो । जसमध्ये अब निकै कम संख्यामा मात्र लाइसेन्स छाप्न बाँकी रहेको केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले जानकारी दिए ।
एकातिर, थोरै म्याद भएका लाइसेन्स नछापिने विभागको निर्णयले एकातिर राज्यको करोडौँ रुपैयाँ छपाइ खर्च जोगिनेछ भने अर्कोतिर सेवाग्राहीले पनि छोटो समयका लागि कार्ड लिएर फेरि नवीकरण गर्नुपर्ने झन्झट बेहोर्नु पर्दैन । यद्यपि, वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जाने तयारीमा रहेका र तत्कालै कार्ड चाहिने सेवाग्राहीका हकमा भने विभागले म्याद थप गर्न लगाएर वा विशेष व्यवस्था गरेर कार्ड उपलब्ध गराउन सकिने विषयमा गृहकार्य भइरहेको बताइएको छ ।
२०८२ साउन १४ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार अब नयाँ जारी हुने वा नवीकरण हुने लाइसेन्सको अवधि १० वर्षको हुनेछ । यो व्यवस्था लागू भएपछि सेवाग्राहीले छिटोछिटो कार्यालय धाउनुपर्ने बाध्यता हट्नेछ । विभागले अहिलेको ‘ब्याकलग’ असार मसान्तभित्र शून्यमा झार्ने लक्ष्य राखेको छ । यदि यो लक्ष्य पुरा भएमा आगामी साउनदेखि नयाँ राजस्व तिर्ने सेवाग्राहीले १० वर्ष अवधिको लाइसेन्स पाउनेछन् ।


