मकालु वाइन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रति शेयर रु. १०० अंकित मूल्यका १० लाख कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो ।
आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतापत्रमा मकालु वाइनका अध्यक्ष पिताम्बर पोख्रेल तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।
२०५२ सालमा धर्मदेवी नगरपालिका–३, संखुवासभामा स्थापना भएको मकालु वाइनले विगत ३१ वर्षदेखि समुन्द्र सतहबाट करिब २८०० मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंशेलुबाट ‘हिंवा वाइन’ उत्पादन गर्दै आएको कम्पनीले बताएको छ ।
कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ । कम्पनीमा देवश्री भेन्चर, हारभेस्ट भेञ्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्ट लगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ । कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।


