नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समिति अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। बैंकको बुधबार बिहान बसेको १८५औँ सञ्चालक समितिको बैठकले रेग्मीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष रेग्मी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। उनले निफ्राको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंककै प्रतिनिधित्व गर्दै आएका छन्। यसअघि संस्थापक समूह ‘विशाल ग्रुप’ को प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक समिति सदस्य तथा अध्यक्षको भूमिकामा रहेका अनुज अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका थिए।
बुधबारकै बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको छ। साथै, सोही बैठकले विशाल ग्रुपकै तर्फबाट रिक्त रहेको सञ्चालक सदस्य पदमा दीपक कुमार अग्रवाललाई नियुक्त गरेको छ। नवनियुक्त सञ्चालक अग्रवालको कार्यकाल बुधबारदेखि नै लागू भइसकेको बैंकले जनाएको छ।


