युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधानका लागि नीतिगत सुधार र ऐन संशोधनको अन्तिम तयारी भइरहेको बताएका छन्। काठमाडौंमा आयोजित ‘राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्रालयको ८० प्रतिशतभन्दा बढी समय वैदेशिक रोजगारसँग सम्बन्धित उजुरी, गुनासा र बेथितिहरू सल्टाउनमै बित्ने गरेको उल्लेख गर्दै उनले यस क्षेत्रलाई व्यवस्थित नबनाई आन्तरिक रोजगारी प्रवर्द्धन गर्न नसकिने स्पष्ट पारे। विगत लामो समयदेखि थुनिएका समस्याको गाँठो फुकाउन प्रणालीगत सुधार नै एकमात्र विकल्प भएको उनको भनाइ थियो ।
मन्त्री यादवले देशमा व्याप्त बेरोजगारीलाई प्रमुख चुनौतीका रूपमा स्वीकार गर्दै युवा वर्ग नै मुलुकको रूपान्तरणको सबैभन्दा ठूलो शक्ति र सम्भावना भएको जिकिर गरे। युवाहरू क्षमता हुँदाहुँदै पनि उपयुक्त अवसर, लगानी, बजारको पहुँच र आत्मविश्वासको कमीका कारण पछि परिरहेको तर्फ ध्यानाकर्षण गराउँदै उनले अब युवा पुस्ताले जागिर मात्र खोज्ने नभई उद्यमशीलताका नयाँ अवसरहरू पहिचान गर्नुपर्नेमा जोड दिए ।
रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका अतुलनीय रहेको चर्चा गर्दै मन्त्री यादवले राज्य एक्लैले मात्र पर्याप्त रोजगारी सिर्जना गर्न नसक्ने यथार्थलाई आत्मसाथ गरे। तमाम चुनौतीका बाबजुद मुलुकभित्रै व्यवसाय सञ्चालन गरेर अरूका लागि समेत रोजगारीका अवसरहरू सिर्जना गरिरहेका उद्यमीहरू नै राष्ट्र निर्माणका वास्तविक संवाहक भएको भन्दै उनले विशेष धन्यवाद प्रकट गरे। साथै, आगामी दिनमा युवाहरूलाई उद्यमशीलतामा आकर्षित गर्न र अनुकूल वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको प्रतिवद्धता समेत उनले व्यक्त गरे।


