आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेश प्रदेश सरकारले ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज भट्टराईले असार १ गते मधेश प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार खर्च प्रस्ताव गरिएको छ । जुन कुल बजेटमा चालुतर्फ ३५.५४ प्रतिशत र पुँजीगततर्फ ६४.३५ प्रतिशत हुन आउँछ ।
बजेटको स्रोत व्यवस्थापनमा आन्तरिक स्रोत तथा राजस्व तर्फबाट ११ अर्ब २२ करोड ७५ लाख बेहोर्ने अर्थमन्त्री भट्टराईको प्रस्ताव छ । यस्तै, संघीय सरकारबाट राजश्व बाँडफाटअन्तर्गत १२ अर्ब ८३ करोड प्राप्त हुने अनुमान गरिएको छ । साथै, संघीय सरकारबाट प्राप्त हुने वितीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख र चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख हुने अर्थमन्त्रीको अनुमान छ । एक अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाउने योजना छ ।
संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानवापत ७ अर्ब ८४ करोड ८५ लाख, सशर्त अनुदानवापत ८ अर्ब १० करोड २८ लाख, समपूरक अनुदानबाट ९४ करोड ७४ लाख र विशेष समपूरक अनुदानबाट ७० करोड गरी जम्मा १७ अर्ब ५९ करोड ८७ लाख प्राप्त हुने अनुमान बजेटमा उल्लेख छ । मधेसको बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वनलगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा मधेसले ४६ अर्ब ५८ करोड बराबरको बजेट ल्याएको थियो । चालु आवभन्दा आगामी वर्षका लागि मधेसले कम बजेट ल्याएको छ ।


