Banijya News

जी मोटर्स र स्काईवेलबीचको आधिकारिक बिक्रेता सम्झौता खारेज

1
1.0K Shares

नेपालमा चिनियाँ प्रिमियम विद्युतीय सवारी साधन (ईभी) ब्रान्ड स्काईवेल र स्काईवर्थको आधिकारिक वितरकका रूपमा कार्यरत जी मोटर्सको अधिकार औपचारिक रूपमा समाप्त भएको छ । स्काईवेलको उत्पादक कम्पनी जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेडले जी मोटर्ससँगको आधिकारिक बिक्रेता सम्झौता खारेज गरेपछि दुई कम्पनीबीचको सम्झौता समाप्त भएको हो ।

कम्पनीले २०२६ को जुन ५ देखि लागू हुने गरी उक्त कम्पनीलाई नेपालका लागि आधिकारिक डिलरको सूचीबाट हटाएको जनाएको छ । उत्पादक कम्पनीको अन्तर्राष्ट्रिय मार्केटिङ विभागका प्रतिनिधि ह्वाङ युले असार १ गते (जुन १५) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई ईमेल पठाउँदै जी मोटर्स अब स्काईवेल र स्काईवर्थ ब्रान्डका सवारीसाधन आयात तथा बिक्री गर्नका लागि कम्पनीको अधिकृत प्रतिनिधि नरहेको स्पष्ट पारेका छन् । ईमेलमा आवश्यक परे थप प्रमाण तथा विवरण उपलब्ध गराउन सकिने उल्लेख गरिएको छ ।

चिनियाँ उत्पादक कम्पनीबाट प्राप्त यही आधिकारिक जानकारीका आधारमा विभागले जी मोटर्सलाई यसअघि प्रदान गरिएको एजेन्सी दर्ता खारेज गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । कानुनी प्रक्रिया पूरा भएपछि जी मोटर्सले स्काईवेल ब्रान्डका सवारी साधन नेपाल भित्र्याउन पाउने अधिकार स्वतः समाप्त हुनेछ ।

उक्त घटनाक्रमसँगै पछिल्लो समय जी मोटर्सले आफ्ना सवारी साधनहरूमा आक्रामक छुट योजना सार्वजनिक गरेको विषय पनि चर्चामा आएको छ । बजेटपछिको अवधिमा अधिकांश प्रतिस्पर्धी ब्रान्डका गाडीको मूल्य वृद्धि भइरहेका बेला जी मोटर्सले लाखौँ रुपैयाँसम्म छुट दिएर गाडी बिक्री गर्न थालेको थियो ।

जी मोटर्सले विक्रम संवत् २०८१ को सुरुवाततिर स्काईवेल ब्रान्डलाई नेपालमा भित्र्याएको थियो । लामो रेन्ज, प्रिमियम सुविधा तथा अत्याधुनिक प्रविधिका कारण स्काईवेलले नेपाली ईभी बजारमा सुरुवाती चरणमै उल्लेखनीय चर्चा बटुलेको थियो ।

नेपाली बजारमा प्रवेश गर्दा स्काईवेललाई सबैभन्दा धेरै रेन्ज दिने विद्युतीय सवारी साधनका रूपमा प्रचार गरिएको थियो । कम्पनीले पहिलो मोडलका रूपमा स्काईवेल ईटी५ बजारमा ल्याएको थियो । हाल नेपाली बजारमा बीई११ का दुई भेरियन्ट तथा ईटी५ गरी दुई मोडलका तीन भेरियन्ट उपलब्ध छन् । यी सवारी साधनहरूले क्रमशः ४१०, ५२० र ६२० किलोमिटरसम्मको रेन्ज दिने दाबी कम्पनीले गर्दै आएको छ ।

उक्त ब्रान्डलाई स्थापित गर्न जी मोटर्सले देशभर बिक्री तथा सेवा सञ्जाल विस्तारमा समेत ठूलो लगानी गरेको थियो । भक्तपुरको राधेराधे र इटहरीमा आधुनिक सर्भिस सेन्टर स्थापना गरिएका छन् भने राधेराधे, नक्साल, विराटनगर, इटहरी, चितवन र पोखरामा बिक्री कक्ष सञ्चालनमा रहेका छन् । यद्यपि, पर्याप्त बजार विस्तार र बिक्री वृद्धिको लक्ष्य हासिल गर्न कम्पनी सफल हुन सकेको थिएन ।

1

Scroll to Top