Banijya News

झापाको ५ तारे होटल होलिडे इन एक्सप्रेस अब राजेश सोनीको नेतृत्वमा

1
1.2K Shares

झापाको धुलाबारीमा निर्माणाधीन ५ तारे होटल ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ ‘होटल इस्टर्न नेपाल” को स्वामित्व र नेतृत्वमा पूर्ण फेरबदल भएको छ। सन् २०२५ डिसेम्बरसम्म पूर्वऊर्जामन्त्री दीपक खड्काको परिवारको स्वामित्वमा रहेको यो परियोजनाको ९९.०७ प्रतिशत सेयर जुन २०२६ देखि व्यवसायी राजेश कुमार सोनीले खरिद गरेका छन्।

वित्तीय भार र राजनीतिक व्यस्तताका कारण खड्का परिवार बाहिरिएसँगै सोनी होटल सञ्चालक समितिको नयाँ अध्यक्ष बनेका छन्, भने बाँकी ०.९३ प्रतिशत सेयर साना लगानीकर्ताहरूसँग छ। कुल ३ अर्ब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको यो होटल खड्काले करिब २ अर्ब ७० करोड रूपैयाँमा सोनीलाई बेचेको स्रोतको दाबी छ।

यसअघि व्यवसायी भवन भट्टसँग करिब ३ अर्बमा डिल हुने भनिए पनि अन्तिममा रद्द भएको थियो। अत्यधिक ऋणमा निर्भर (हाई लिभरेज्ड) रहेको यस परियोजनामा २ अर्ब २८ करोड ८० लाख रुपैयाँ बैंक ऋणको भार छ। निर्माणमा भएको ढिलाइले ब्याज खर्च बढेपछि थप पुँजी थप्ने दबाबका बीच खड्का परिवारले होटल बिक्री गर्ने निर्णय लिएको देखिन्छ।

नयाँ व्यवस्थापन भित्रिएसँगै होटलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५८ प्रतिशत छ। पहिले अप्रिल २०२६ मै सञ्चालन गर्ने लक्ष्य राखिए पनि नयाँ नेतृत्व अनुसार अब आगामी अक्टोबर २०२६ (दशैं) देखि मात्र होटल सञ्चालनमा आउनेछ। ९८ कोठा रहने यो होटल विश्वप्रसिद्ध ‘इन्टर–कन्टिनेन्टल होटल्स ग्रुप’ को ब्रान्डमा सञ्चालन हुने तय भएको छ।

इन्फोमेरिक्स नेपालले ‘बीबी माइनस’ रेटिङ दिएको यस होटलका लागि वित्तीय चुनौती व्यवस्थापन गर्नु र बजारको प्रतिस्पर्धामा टिक्नु मुख्य चुनौती देखिन्छ। नेपाल-भारत सीमा नजिक रहेकाले भारतीय तथा विदेशी पर्यटकमा निर्भर रहने यो होटल सीमा क्षेत्रको राजनीतिक वा प्राविधिक अवरोधप्रति निकै संवेदनशील छ। यद्यपि, बलियो रणनीतिक लोकेसन र सोनी ग्रुपको वित्तीय क्षमताका कारण यस होटलले झापाको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

1

Scroll to Top