सेयर खरिद गर्दा अग्रिम २५ प्रतिशत तिर्नुपर्ने व्यवस्था हटाउन नेपाल धितोपत्र बोर्ड (सेबोन)मा ब्रोकरहरूले लबिङ सुरु गरेका छन् । धितोपत्र बजारमा उधारो शेयर कारोबारको विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन तीव्र पारेसँगै शेयर ब्रोकरहरू सशंकित बनेका हुन् ।
स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूले सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई भेटेर विद्यमान नियम परिमार्जन गर्न र अनुसन्धानका क्रममा बैंक खाता रोक्का नगर्ने व्यवस्था मिलाउन माग गरेका छन् । एशोसिएसनले लिखित रूपमा सुझावपत्र पेस गर्दै अग्रिम रकम लिने वा नलिने निर्णय पूर्ण रूपमा ब्रोकर कम्पनीहरूको स्वविवेकमा छाड्नुपर्ने उल्लेख गरेको छ । लगानीकर्ताबाट अनिवार्य रूपमा २५ प्रतिशत अग्रिम रकम (कोलेट्रल) लिनुपर्ने विद्यमान कानुनी व्यवस्था व्यवहारिक नभएको ब्रोकरहरूको दाबी रहेको छ ।
उधारो कारोबारकै कारण निम्तिने कानुनी फन्दाबाट बच्न ब्रोकरहरूले खुकुलो नीतिका लागि नियामक निकायमा दौडधुप सुरु गरेको बताइन्छ । नेपाल रि–इन्स्योरेन्सको सेयर मूल्य उचाल्न २५ प्रतिशत अग्रिम रकम भुक्तानी नभएको प्रमाणलाई समेत आधार बनाएर भृकुटी स्टक ब्रोकिङका सन्दीप चाचानविरुद्ध मुद्दा चलाइएपछि ब्रोकरहरू थप सशंकित भएको बताइन्छ ।
यसैगरी, सीआईबीले अनुसन्धानका क्रममा धितोपत्र दलाल कम्पनीहरूको दैनिक कारोबार र राफसाफ हुने मुख्य बैंक खाता नै रोक्का गरिदिँदा बजारमा गम्भीर समस्या पैदा भएको ब्रोकरहरूको गुनासो छ । बैंक खाता रोक्का हुँदा लाखौँ सर्वसाधारण लगानीकर्ताको भुक्तानी रोकिने, बजारमा भ्रम र अविश्वास पैदा हुने उनीहरुको जिकिर रहेको छ ।
सिआइबीले अनुसन्धान गर्दा सेबोनले भृकुटी स्टक ब्रोकिङ खाता रोक्का गरेको थियो । साथै, उनीहरूले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली–२०८१ को दफा ६(२) संशोधन गर्न माग गरेका छन् । उक्त दफामा भुक्तानी सेवा प्रदायक तथा धितोपत्र कारोबार गर्ने संस्थाको सेटलमेन्ट प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का नहुने व्यवस्था उल्लेख गर्न माग गरेका छन् । ब्रोकरहरूको राफसाफ खाता सुरक्षित गर्न पहल गरिदिन बोर्डलाई आग्रह गरेका हुन् ।
ब्रोकरहरूले सर्वसाधारण लगानीकर्ताले भोग्नुपरेका व्यावहारिक समस्यादेखि नीतिगत र प्राविधिक तहसम्मका १३ वटा विषयलाई समेटेर सुझाव दिएका छन् । भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नम्बर ५५) मा नियम विपरीत अर्बौँको उधारो कारोबार भएको तथ्य फेला परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाएको छ ।
धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनका अनुसार भृकुटी स्टकका कार्यकारी प्रमुख सन्दीप चाचानको मिलेमतोमा विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाह, मोर र गोल्छा लगायतले एक रुपैयाँ पनि अग्रिम रकम नबुझाई अर्बौँको शेयर किनबेच गरेका थिए । प्रतिवेदनअनुसार, भृकुटी स्टकले आफ्ना अन्य सर्वसाधारण ग्राहकहरूको रकम नेटिङ प्रणालीमार्फत प्रयोग गरेर भट्टको अर्बौँको कारोबार राफसाफ गरिदिएको थियो ।


