Banijya News

जीवन बीमाको अल्पकालीन लगानीले नाघ्यो २ खर्ब २१ अर्ब, कुन कम्पनीको अवस्था कस्तो ?

1
1.0K Shares

जीवन बीमा कम्पनीहरूले अल्पकालीन तरलता व्यवस्थापन, दाबी भुक्तानी, सञ्चालन खर्च तथा अन्य तत्कालीन वित्तीय दायित्व पूरा गर्न छोटो अवधिका लागि लगानी गर्ने गर्दछन् । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले अल्पकालीन लगानी २ खर्ब २१ अर्बभन्दा बढी रहेको पाइएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म १४ वटा जीवन बीमा कम्पनीहरूको कुल अल्पकालीन लगानी २ खर्ब २१ अर्ब १८ करोड २२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी १ खर्ब ७३ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा समग्र अल्पकालीन लगानी २७.४१ प्रतिशतले वृद्धि भएको विवरणमा उल्लेख छ ।

जीवन बीमा कम्पनीहरूले अल्पकालीन तरलता व्यवस्थापन गर्न निश्चित अवधिका लागि प्रायः बैंक तथा वित्तीय संस्थाको छोटो अवधिको निक्षेप, ट्रेजरी बिलजस्ता वित्तीय साधनमा लगानी गर्ने गर्छन् । सर्वाधिक अल्पकालीन लगानी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको अल्पकालीन लगानी ४० अर्ब ४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको यस्तो लगानी ३९.३१ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, एलआईसी नेपालको अल्पकालीन लगानी ३९ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले एक वर्षको अवधिमा १२८.७१ प्रतिशतको उच्च वृद्धि हासिल गरेको छ । त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ३२ अर्ब ६४ करोड ५७ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । यद्यपि, कम्पनीको लगानी अघिल्लो वर्षको तुलनामा २५.८७ प्रतिशतले घटेको देखिएको छ ।

त्यस्तै, हिमालयन लाइफको छोटो अवधिको लगानी ३२ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने मेट लाइफको १३ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ रहेको छ । एशियन लाइफले १२ अर्ब ७९ करोड ७ लाख रुपैयाँ तथा सानिमा रिलायन्स लाइफले १२ अर्ब २६ करोड ५६ लाख रुपैयाँ बराबरको अल्पकालीन लगानी गरेका छन् ।

त्यसैगरी, नेशनल लाइफको अल्पकालीन लगानी ९ अर्ब ९० करोड ५५ लाख रुपैयाँ पुगेको छ । प्रभु महालक्ष्मी लाइफले ७ अर्ब २० करोड १७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ८० करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ६४ करोड ८९ लाख रुपैयाँ तथा आईएमई लाइफले ५ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । रिलायबल नेपाल लाइफको अल्पकालीन लगानी १ अर्ब ७५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सन नेपाल लाइफको १ अर्ब ७० करोड ५० लाख रुपैयाँ पुगेको छ ।

अल्पकालीन लगानीको वृद्धिदर हेर्ने हो भने सन नेपाल सबैभन्दा अगाडि देखिएको छ । कम्पनीको अल्पकालीन लगानी एक वर्षमा ४५० प्रतिशतले वृद्धि भएको छ । त्यसपछि एलआईसीको १२८.७१ प्रतिशत, प्रभु महालक्ष्मीको ९३.३४ प्रतिशत, मेटको ८८.९८ प्रतिशत, आईएमईको ६०.३७ प्रतिशत तथा सानिमा रिलायन्सको ४४.२७ प्रतिशत वृद्धि भएको विवरणमा उल्लेख छ । यस्तै, नेपालको ३९.३१ प्रतिशत, हिमायलयनको ३६.५१ प्रतिशत, एशियनको १२.१९ प्रतिशत र सिटिजनको ६.४९ प्रतिशतले लगानी वृद्धि भएको छ ।

तर, केही कम्पनीहरूको अल्पकालीन लगानी भने घटेको देखिएको छ । राष्ट्रिय जीवन बीमाको लगानी २५.८७ प्रतिशत, रिलायबल नेपालको २२.२५ प्रतिशत, सूर्यज्योतिको २० प्रतिशत तथा नेशनलको ३.१३ प्रतिशतले घटेको वित्तीय विवरणमा उल्लेख छ ।

1

Scroll to Top