प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण व्यवसायीहरुसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले दीर्घकालीन रुपमा निर्माण क्षेत्रलाई अगाडि कसरी लैजाने भन्नेबारे चासो राखेका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताए ।
प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए ।
छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवम् सल्लाहकार जयराम लामिछाने सहभागी थिए ।
निर्माण व्यवसायीहरुले यस क्षेत्रले भोग्दै आएको भुक्तानी समस्या, म्याद थप नभएको विषय, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । साथै, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री शाहले उठाइएका विषयलाई सरकारले गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री शाहले निर्माण क्षेत्र रुग्ण अवस्थामा रहेको भन्दै यसलाई सुधार गर्ने समेत बताएका छन् । भुक्तानीको समस्या समाधान गर्न मूल्य समायोजनमा प्रधानमन्त्री सकारात्मक देखिएका छन् ।


