आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्यामा कमी आएको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार, समीक्षा अवधिमा ७ लाख ९२ हजार १ सय ८७ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशिएका छन् ।
विभागका अनुसार श्रम स्वीकृति लिएकामध्ये ६ लाख ९७ हजार ९६ जना पुरुष र ९५ हजार ९१ जना महिला रहेका छन् । यो संख्या अघिल्लो २०८१र८२ को तुलनामा ४७ हजार ७९ ले कम हो । अघिल्लो आर्थिक वर्षमा ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृति प्राप्त गरेका थिए ।
तथ्यांकले संस्थागत रूपमा म्यानपावर कम्पनीमार्फत विदेश जाने श्रमिकको संख्यामा उल्लेख्य गिरावट आएको देखाएको छ । गत आर्थिक वर्ष म्यानपावर कम्पनीमार्फत २ लाख ६८ हजार ९ सय ९० जना बिदेसिएका छन् । व्यक्तिगत श्रम स्वीकृतिमार्फत १ लाख २८ हजार ५ सय २० जना वैदेशिक रोजगारीमा गएका छन् भने सरकार–सरकार (जी–टु–जी) प्रणालीबाट ८ हजार १ सय ९७ जना बिदेसिएका छन् ।
अघिल्लो आर्थिक वर्षमा भने म्यानपावर कम्पनीमार्फत ३ लाख ५९ हजार ६ सय ७५ जना श्रमिक विदेश पुगेका थिए । त्यसको तुलनामा गत आर्थिक वर्ष यस्तो संख्या ९० हजार ६ सय ८५ ले घटेको विभागको विवरणमा उल्लेख छ ।
गन्तव्य मुलुकका आधारमा हेर्दा सबैभन्दा धेरै नेपाली श्रमिक संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् । पुनः श्रम स्वीकृति लिएका समेत गरी युएईमा १ लाख ८३ हजार ५ सय ८० जना पुगेका छन् । त्यसपछि मलेसियामा १ लाख २८ हजार ७ सय ५३, साउदी अरेबियामा १ लाख २३ हजार ७ सय १९ तथा कतारमा १ लाख २१ हजार २ सय ३० जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।
त्यसैगरी, कुवेतमा ४३ हजार ३ सय ६०, रोमानियामा ३३ हजार ३ सय ६० र जापानमा २२ हजार २ सय ६६ जना नेपाली श्रमिकले श्रम स्वीकृति लिएर रोजगारीका लागि प्रस्थान गरेको विभागको तथ्यांकले देखाएको छ ।


