नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम प्राप्त गर्न सकिने अनलाइन आवेदन सेवा सञ्चालनमा आएको छ । सेवाग्राहीले विद्युतीय सेवा पोर्टलमार्फत आवेदन दिएपछि भौतिक वा ई–सिम प्राप्त गर्न सकिने भएको छ ।
नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने तथा ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो । अब सेवाग्राहीले टेलिकमको विद्युतीय सेवा पोर्टलमार्फत आवश्यक विवरण भरेर हराएको वा बिग्रेको सिमको सट्टा नयाँ भौतिक सिम वा ई–सिमका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा आफ्नो प्रतिनिधिमार्फत सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम प्राप्त गर्न सक्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्रतिनिधिमार्फत पनि सिम बुझ्न सकिने सुविधा उपलब्ध गराइएको छ ।
सञ्चार मन्त्रालयले अघि सारेको सुधारात्मक कार्ययोजनाअन्तर्गत नेपाल टेलिकमको सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखिएको छ । सोहीअनुसार कम्पनीले मोबाइल सेवा व्यवस्थापन, प्रशासनिक प्रक्रिया सरलीकरण तथा सेवाग्राही केन्द्रित डिजिटल सेवाहरू विस्तार गर्दै लगेको जनाएको छ ।
कार्ययोजनाअनुसार भविष्यमा एकपटक मात्र ग्राहक विवरण दर्ता गर्ने व्यवस्था, ई–सिम वितरण, हराएको सिम पुनःप्राप्ति, गुनासो व्यवस्थापन तथा सिम स्वामित्व हस्तान्तरणलगायतका सेवा पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी गरिएको छ । साथै, नेपाल टेलिकमका सबै कार्यालयमा एकल सेवा सहायता कक्ष स्थापना गर्ने, फोरजी सेवाको गुणस्तर सुधार गर्ने तथा डाटा सकिएपछि स्वतः मौज्दात रकम कट्ने व्यवस्था हटाउनेलगायत सुधारका कार्यक्रम पनि अघि बढाइएको कम्पनीले जनाएको छ ।


