केही स्थानीय तहमा देखिएको राजनीतिक विवाद, प्राविधिक समस्या तथा अन्य आन्तरिक कारणले समयमै बजेट ल्याउन सकेका छैनन् । देशभरका ७५३ मध्ये १३ स्थानीय तहले चालु आर्थिक वर्षको बजेट अझै सार्वजनिक गर्न नसकेका हुन् ।
मुलुकभरका ७४० वटा स्थानीय तहले भने बजेट सार्वजनिक गरी कार्यान्वयन प्रक्रिया नै अघि बढाइसकेका छन् । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणअनुसार, बजेट सार्वजनिक गर्न बाँकी अधिकांश स्थानीय तह मधेश प्रदेशका रहेका छन् ।
नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्दछ । यसपछि असार १ गते प्रदेश सरकार र असार महिनाभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
तर, केही स्थानीय तहले साउन महिना लागिसके पनि चालु आवको बजेट प्रस्तुत गर्न सकेका छैनन् । मधेशका मात्रै १० स्थानीय तहले हालसम्म बजेट ल्याउन नसकेको देखिएको छ ।
मधेश प्रदेशका सिराहाको सुखीपुर नगरपालिका र औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटका गरुडा नगरपालिका, कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले चालु आवको बजेट ल्याउन सकेका छैनन् । त्यस्तै, पर्साको छिपहरमाई गाउँपालिका र पकाहा मैनपुर गाउँपालिकाले पनि चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन् ।
यसैगरी कोशी प्रदेशको धरान उपमहानगरपालिकाले पनि हालसम्म बजेट सार्वजनिक गर्न सकेको छैन । उता, लुम्बिनी प्रदेशको रुपन्देहीस्थित कोटहीमाई गाउँपालिका र कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले पनि हालसम्म बजेट प्रस्तुत नगरेको पाइएको छ ।
कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये १३६ वटा स्थानीय तहले बजेट ल्याइसकेका छन् । कोशीमा सुनसरीको धरान उपमहानगरले मात्र बजेट ल्याउन नसकेको देखिन्छ । उता, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले गत असारभित्रै बजेट सार्वजनिक गरी कार्यान्वयन प्रक्रिया सुरु गरिसकेका छन् ।


