आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ मा १३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । संस्थाले गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ ।
संस्थाको उक्त वित्तीय विवरणअनुसार अघिल्लो आव २०८१/०८२ को तुलनामा गत आवमा कम्पनीको नाफासहित अधिकांश सूचकमा उल्लेख्य प्रगति भएको छ । अघिल्लो आवमा संस्थाले १० करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसको तुलनामा गत आवमा ३५.७६ प्रतिशतको वृद्धि सहित खुद नाफा १३ करोड ८२ लाख रुपैयाँ कमाउन सफल भएको हो ।
कम्पनीको खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा २२ करोड ३७ लाख रुपैयाँबाट १४.३६ प्रतिशतल घटेर १९ करोड १५ लाख रुपैयाँमा झरेको छ । ब्याज आम्दानी घटेसँगै कम्पनीको कुल सञ्चालन आम्दानी पनि २२ करोड ८७ लाख रुपैयाँबाट झण्डै १४ प्रतिशतले घटेर १९ करोड ६९ लाख रुपैयाँ भएको छ । यसको बाबजूद कम्पनीको सञ्चालन नाफा १४ करोड ७० लाख रुपैयाँबाट बढेर १९ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ११ करोड ४१ लाख रुपैयाँ नाघेको छ । जुन अघिल्लो आवको तुलनामा ३३..५८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ८ करोड ५४ लाख रुपैयाँ कमाएको थियो ।
त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ९.८५ रुपैयाँबाट बढेर १३.३७ रुपैयाँ पुगेको छ । खराब कर्जा (एनपीएल) ३.३४ प्रतिशतबाट बढेर ३.९२ प्रतिशत पुगेको छ । बेसरेट ६.९६ प्रतिशतबाट घटेर ५.५३ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १३१.०७ रुपैयाँ कायम भएको छ ।
चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहको कम्पनीको जगेडा कोषमा ११ करोड ४१ लाख रुपैयाँ र रिजर्भमा २० करोड ७१ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीले ४ अर्ब २४ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४ अर्ब २० करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।


