Banijya News

सरकारको पूर्वाधारमैत्री निर्णयप्रति निर्माण व्यवसायी सकारात्मक

1
1.1K Shares

नेपाल निर्माण व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त ‘मुकेश’ले वर्तमान सरकारले पूर्वाधार क्षेत्रको विकासका लागि गरेका पछिल्ला निर्णयहरूको स्वागत गरेका छन् ।

दाङको घोराहीमा बुधबार आयोजित लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष पन्तले पूर्वाधारमैत्री निर्णयका लागि सरकारप्रति आभार व्यक्त गरेका हुन् ।

उनले निर्माण व्यवसायीहरूलाई पनि जिम्मेवार भएर काम सम्पन्न गर्न आग्रह गरेका छन् । उनले सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐनले निर्माण उद्योगका लागि महत्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गरे । ‘लो बिडिङ’ प्रणालीमार्फत ठेक्का लिने र काम गर्ने प्रवृत्तिको अन्त्य गर्दै औसत विधिबाट ठेक्का प्राप्त गर्ने संशोधित व्यवस्थाले पूर्वाधार क्षेत्रका धेरै समस्या समाधान गर्ने उनले बताए ।

पन्तले बजेट विनियोजन वा स्रोत सुनिश्चित नभएसम्म खरिद प्रक्रिया सुरु गर्न नहुने, जग्गा, मुआब्जा, निर्माणस्थल तथा वातावरणीय स्वीकृति पूरा भएपछि मात्र बोलपत्र आह्‌वान गर्नुपर्ने व्यवस्था सकारात्मक रहेको बताए । साथै, सरकारले स्वीकृत मापदण्डअनुसार लागत अनुमान तयार गर्नुपर्ने, नियोजक, निर्माण व्यवसायी, आपूर्तिकर्ता र परामर्शदाताको जिम्मेवारी स्पष्ट तोकिनुपर्ने बताए ।

यसैगरी, तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्ने कर्मचारीलाई प्रोत्साहन, बोनस तथा अन्य सुविधा दिने र निर्माण व्यवसायीलाई पनि प्रोत्साहन तथा प्रशंसापत्र दिने व्यवस्था सराहनीय भएको बताए ।

निर्माण व्यवसायीहरू आर्थिक रूपमा कठिन अवस्थामा रहेको समयमा सार्वजनिक खरिद नियमावलीको १५औं संशोधनमार्फत म्याद थप सुनिश्चित गरिएकोमा उनले सरकारलाई धन्यवाद दिए । निर्माण उद्योगलाई चलायमान बनाउन राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति तथा त्यसअनुसारका निर्देशनले समेत राहत पुर्‍याउने उनको भनाइ थियो ।

महासंघको वर्तमान नेतृत्व निर्माण व्यवसायीमैत्री कानुन निर्माणका लागि सक्रिय रहेको बताउँदै पन्तले निर्माण व्यवसायी ऐन २०५५ संशोधन प्रक्रियामा महासंघले भूमिका निर्वाह गरिरहेको बताएका छन् । सरकारले पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकता दिएर निर्णय गरिरहेको अवस्थामा निर्माण व्यवसायीहरूले पनि आफ्नो जिम्मेवारी पूरा गर्दै गुणस्तरीय काम गर्नुपर्नेमा उनको जोड रहेको छ ।

महासंघको वर्तमान नेतृत्वले परम्परागत कार्यशैली परिवर्तन गर्दै संस्थालाई प्रविधिमैत्री, पारदर्शी, उत्तरदायी र आधुनिक संस्थाका रूपमा रूपान्तरण गर्ने अभियान अघि बढाएको पन्तले बताए । साथै, डिजिटल प्रणाली विस्तार, अनलाइन सेवाको प्रवद्र्धन, सूचना प्रविधिको प्रभावकारी प्रयोग तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर महासंघलाई समयानुकूल र परिणाममुखी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

1

Scroll to Top