Banijya News

धानचामल किन्नमै बाहिरियो करिब ४० अर्ब

1
1.1K Shares

कृषिप्रधान देश नेपालले धान तथा चामल किन्नमै करिब ४० अर्ब रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षमा कच्चा धानको आयात घटे पनि तयारी चामलको आयात बढ्दा खाद्यान्नमा नेपालको परनिर्भरता झन् बढ्दै गएको पाइएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले कुल सात लाख ४१ हजार ७०३ टन धान तथा चामल आयात गरेको छ । त्यसका लागि ३९ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ विदेशिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सात लाख ७५ हजार २६८ टन धानचामल आयात गर्दा ४० अर्ब १८ करोड ९७ लाख रुपैयाँ खर्च भएको थियो । यस आधारमा गत वर्ष धानचामलको आयात परिमाण ३३ हजार ५६५ टनले घटेको छ भने आयात रकम करिब २९ करोड ३९ लाख रुपैयाँले कम भएको छ ।

गत आर्थिक वर्षमा कच्चा धानको आयात भने घटेको पाइएको छ । गत आर्थिक वर्षमा नेपालले चार लाख ७७ हजार ९०९ टन धान आयात गरेको छ । यसको मूल्य १९ अर्ब १४ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

गत आवमा आयात भएको धानमध्ये दुई हजार ९९३ टन बिउ र चार लाख ७४ हजार ९१५ टन अन्य कच्चा धान रहेको छ । अघिल्लो आर्थिक वर्षमा पाँच लाख ३३ हजार ७१५ टन धान आयात भएको थियो । त्यसका लागि २१ अर्ब ५२ करोड ३७ लाख रुपैयाँ खर्च भएको थियो ।

तयारी चामलको आयातमा वृद्धि

कच्चा धानको आयात घटे पनि तयारी चामलको आयात भने बढेको तथ्यांक छ । गत आर्थिक वर्षमा नेपालले दुई लाख ६३ हजार ७९४ टन तयारी चामल आयात गरेको छ । त्यसका लागि २० अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्ष दुई लाख ४१ हजार ५५३ टन तयारी चामल आयात भएको थियो, जसको मूल्य १८ अर्ब ६६ करोड ५९ लाख रुपैयाँ थियो ।

गत वर्ष आयात भएको तयारी चामलमध्ये सबैभन्दा धेरै एक लाख ८३ हजार ११० टन मसिनो चामल रहेको छ । त्यसपछि ७१ हजार ६२२ टन बासमती चामल र नौ हजार ५२ टन कनिका आयात भएको छ ।

नेपालको धानचामल आयातमा भारतको हिस्सा ९९ प्रतिशतभन्दा बढी रहेको छ । गत आर्थिक वर्षमा आयात भएको चार लाख ७४ हजार ९१५ टन कच्चा धान शतप्रतिशत भारतबाट आएको छ ।

त्यस्तै, आयात भएको ७१ हजार ६२२ टन बासमती चामलमध्ये ७१ हजार ६१७ टन भारतबाटै भित्रिएको छ । मसिनो चामलतर्फ कुल एक लाख ८३ हजार ११० टन आयात हुँदा भारतबाट मात्रै एक लाख ८२ हजार ४०५ टन आएको छ । यसको मूल्य करिब ११ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

भारतबाहेक भियतनामबाट ६०९ टन, चीनबाट ६६ टन, थाइल्यान्डबाट २६ टन र इटालीबाट करिब तीन टन चामल आयात भएको छ ।
धानको बिउ भने भारतबाट दुई हजार ६६९ टन र चीनबाट ३२४ टन आयात भएको विभागको तथ्यांक छ ।

समग्र आयातमा सामान्य कमी आए पनि तयारी चामलको आयात बढ्नु र अधिकांश आपूर्ति एउटै मुलुकमा निर्भर रहनुले नेपालको खाद्य सुरक्षा तथा कृषि उत्पादन प्रणालीमाथि चुनौती कायमै रहेको तथ्यांकले पुष्टि गर्दछ ।

1

Scroll to Top