नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान ढुवानीका लागि कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । २०८३ साउन १ गतेदेखि उक्त मार्गबाट कार्गो ढुवानीको कार्य सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले यस सेवाको सुरुवातसँगै नेपालको वैदेशिक व्यापारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् । रेल्वे कार्गो सञ्चालनमा आएसँगै व्यापार लागत घट्ने, ढुवानी प्रक्रिया थप सुरक्षित र भरपर्दो हुने तथा आयातित वस्तुहरू कम समयमै गन्तव्यसम्म आइपुग्ने बताइएको छ ।
कार्गो सेवा सञ्चालनबारे बोल्दै प्रवक्ता क्षेत्रीले भने, ‘नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान भारतीय भूमि हुँदै नेपालको सीमासम्म ढुवानी गर्ने उद्देश्यले कोलकाता–विराटनगर रेलवे कार्गो सेवा २०८३ साउन १ गतेदेखि सञ्चालनमा आएको छ ।’
यसअघि सडक मार्गबाट ढुवानी गर्दा नेपाली आयातकर्ताहरूले व्यहोर्नुपरेको विलम्ब शुल्क, कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार अब उल्लेख्य रूपमा कम हुने मन्त्रालयको ठहर छ । साथै, यस सेवा सञ्चालनमा आएपछि व्यापार लागत घट्ने, ढुवानी थप सुरक्षित, भरपर्दो र छिटो हुने अपेक्षा गरिएको छ ।
यस प्रक्रियाले समग्र व्यापार पारवहन लागत न्यूनीकरण गर्दै व्यापार सहजीकरणमा ठोस मद्दत पुग्ने र नेपाली उद्योगीहरूको प्रतिस्पर्धात्मक क्षमतालाई थप मजबुत बनाउन सहयोग पुग्ने परराष्ट्र मन्त्रालयको अपेक्षा रहेको छ ।


