Banijya News

वरुण बेभरेजको ‘सेभेन अप’ उत्पादन र बिक्री वितरणमा रोक

1
1.0K Shares

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वरुण बेभरेज (नेपाल) प्रा.लि.लाई ‘सेभेन अप’ को उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ । बोतलमा बाह्य पदार्थ भेटिएको उजुरी परेपछि विभागको नेतृत्वमा गएको संयुक्त टोलीले काठमाडौंको पेप्सीकोलास्थित उद्योगमा आकस्मिक अनुगमन गरी उत्पादनमा रोक लगाएको हो ।

विभागले २०८३ साउन ७ गते र्‍यापिड रेस्पोन्स मोडालिटीअन्तर्गत उक्त उद्योगमा छापा मारेको थियो । ‘उत्पादन मिति १६–०४–२०२६ र ब्याच नम्बर बी००६ भएको सेभेन अपमा बाह्य पदार्थ पाइयो,’ विभागमा परेको उजुरीमा भनिएको थियो । सोही उजुरीलाई सम्बोधन गर्दै विभागले उद्योगमै पुगेर स्थलगत निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा टोलीले उद्योगमा सोही ब्याचको दुईवटा कन्ट्रोल नमुना बोतल फेला पारेको छ । उक्त उद्योगले २५० मिलिलिटरको सिसाको बोतलमा सेभेन अप उत्पादन गर्ने गरेको पाइयो । उद्योगको उत्पादन प्रक्रिया निरीक्षण गर्दा बोतल धुने प्रणाली सात चरणको रहेको टोलीले पाएको छ ।

बोतल भर्नुअघि चार चरणको लाइट चेकिङ सिस्टम रहेको अनुगमन प्रतिवेदनमा उल्लेख छ । साथै, भरेपछि एउटा मेटल डिटेक्टर र अन्तिममा एउटा लाइट इन्स्पेक्सन सिस्टम रहेको पाइएको भनिएको छ । यद्यपि, उद्योगको प्रशोधन र भण्डारण कक्षमा रहेका अन्य बोतलमा भने कुनै बाह्य पदार्थ नभेटिएको विभागले स्पष्ट पारेको छ ।

अनुगमनपछि विभागले शंकास्पद ब्याच नम्बर बी००६ को नमुना संकलन गरेको छ । अर्को आदेश नभएसम्मका लागि सेभेन अपको सम्पूर्ण उत्पादनमा रोक लगाइएको छ । ‘सो ब्याचको सेभेन अप बिक्री वितरणमा पनि रोक लगाइएको छ,’ विभागले भनेको छ, ‘यसबारे विभागमा लिखित जानकारी गराउन उद्योगलाई निर्देशन दिएका छौं ।’

सो कम्पनीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम यो कारबाही गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले बताएकी छन् । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँ, जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरी प्रभाग काँडाघारीको संयुक्त टोली खटिएको थियो ।

1

Scroll to Top