Banijya News

डिम्याट खाता नवीकरण नगरे कारोबार रोक्का हुने !

1
1.0K Shares

डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क तोकिएको समयभित्र नबुझाएमा खाता रोक्का हुने भएको छ । केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले साउन १५ गतेभित्र आवश्यक शुल्क भुक्तानी गर्न खातावालालाई आग्रह गरेको छ ।

सीडीएससीले सार्वजनिक सूचना जारी गर्दै तोकिएको मितिसम्म वार्षिक शुल्क नतिरेका डिम्याट खाता साउन १६ गतेदेखि रोक्का गरिने जनाएको छ । खाता रोक्का भएपछि सम्बन्धित लगानीकर्ताले सेयर कारोबारसम्बन्धी सेवा प्रयोग गर्न पाउने छैनन् ।

सामान्यतया डिम्याट खाताको वार्षिक शुल्क आर्थिक वर्ष समाप्त हुनुअघि अर्थात् असार मसान्तभित्र बुझाउनुपर्ने व्यवस्था भए पनि यस वर्षका लागि थप समय दिइएको सीडीएससीले जनाएको छ । डिम्याट खाता सञ्चालनका लागि प्रत्येक खातावालाले वार्षिक रूपमा १ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ । हाल देशभर डिम्याट खाताको संख्या ८० लाख ९ हजार ६२३ पुगेको छ ।

त्यस्तै, ‘मेरो सेयर’ सेवा प्रयोग गरेबापत वार्षिक ५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ । सीडीएससीका अनुसार हाल मेरो सेयरमा सक्रिय प्रयोगकर्ता खाता संख्या ५१ लाख ४८ हजार ८९४ पुगेको छ ।

मेरो सेयर प्रणालीमार्फत लगानीकर्ताले प्राथमिक सेयर (आईपीओ), थप सार्वजनिक निष्कासन (एफपीओ), हकप्रद सेयर आवेदनलगायतका सेवा उपयोग गर्दै आएका छन् । साथै, दोस्रो बजारमा बिक्री गरिएको सेयर हस्तान्तरण प्रक्रियामा समेत यही प्रणाली प्रयोग हुने गरेको छ । सीडीएससीले डिम्याट तथा मेरो सेयरको शुल्क घरमै बसेर अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने जनाएको छ ।

1

Scroll to Top