Banijya News

इनड्राइभ चालकहरूको आन्दोलन, भाडा दर कम र कमिसन बढी भएको गुनासो

1
1.0K Shares

नेपालमा लोकप्रिय राइड सेयरिङ कम्पनी ‘इनड्राइभ’सँग आबद्ध चालकहरूले बुधबार ललितपुरको कुपण्डोलस्थित कम्पनीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । कम्पनीले चालकहरूमाथि श्रम शोषण गरेको, अत्यधिक कमिसन लिएको र बजारको महँगीअनुसार भाडा दर कायम नगरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

बुधबार बिहानैदेखि सयौँको संख्यामा भेला भएका चालकहरूले इन्ड्राइभ कार्यालयको गेटमा नाराबाजी गर्दै आफ्ना मागहरू पूरा गर्न दबाब दिएका थिए ।

प्रदर्शनका क्रममा चालकहरूले ‘हाम्रो श्रमको मूल्य लागू गर’ ‘अत्यधिक कमिसन लिन बन्द गर’, ‘हामी पनि मान्छे हौं, हाम्रो पनि सपना छ ।’, ‘भाडा दर समायोजन गर’ जस्ता नारा लगाएका छन् ।

सुरुका दिनमा शून्य कमिसनमा सेवा सञ्चालन गरेको इनड्राइभले अहिले चालकहरूबाट १० देखि १५ प्रतिशत वा सोभन्दा बढी कमिसन लिन थालेको चालकहरूको गुनासो छ । इन्धनको मूल्य वृद्धि र बजारको बढ्दो महँगीअनुसार इन्ड्राइभको ‘बेस रेट’ (न्यूनतम भाडा) निकै कम भएको उनीहरूको दाबी छ । चालकहरूले हालको भाडा दरले मोटरसाइकलको मर्मत खर्च र घरखर्च धान्न मुस्किल परेको बताएका छन् ।

त्यस्तै, सडकमा जोखिम मोलेर काम गर्दा पनि कम्पनीले चालक र यात्रीको सुरक्षा वा बीमाका विषयमा ठोस नीति नबनाएकोमा उनीहरूको आपत्ति छ । एपमा कमिसन धेरै काटिने भएपछि कतिपय चालक र यात्री अफलाइन हिँड्न बाध्य भएको र यसले सुरक्षा चुनौती बढाएको भन्दै उनीहरूले कमिसन घटाएमा सबैजना अनलाइन सिस्टममै बस्ने तर्क गरेका छन् ।

चालकहरूले आफ्ना माग समेटिएको ज्ञापनपत्र कम्पनीका प्रतिनिधिहरूलाई बुझाउने प्रयास गरेका छन् । उनीहरूले तत्काल कमिसन घटाउने र भाडा दरमा पुनरावलोकन नगरे देशभरका चालकहरूले सेवा ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

आन्दोलनको पहिलो चरणअन्तर्गत एक सातासम्म इनड्राइभ एप अनइन्स्टल गर्ने निर्णय गरिएको चालकहरूको भनाइ छ। यस अवधिमा एप प्रयोग नगरी कम्पनीमाथि दबाब सिर्जना गर्ने रणनीति बनाइएको उनीहरूले बताएका छन् ।

नेपालमा राइड सेयरिङ सेवा व्यवस्थित गर्ने स्पष्ट कानुन र मापदण्ड अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन नसक्दा कम्पनी र चालकहरूबीच बेला–बेलामा यस्ता विवाद देखिने गरेका छन् । सरकारले ट्याक्सीको भाडा समायोजन गरे पनि राइड सेयरिङको हकमा ठोस नीति नहुँदा कम्पनीहरूले मनोमानी ढंगले कमिसन तोक्ने गरेको चालकहरूको आरोप छ ।

स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा भइरहेको आन्दोलनलाई थप व्यवस्थित रूपमा अघि बढाउने तयारीसमेत गरिएको छ । चालकहरूले आफ्नो आन्दोलन कुनै व्यक्ति वा सेवाविरुद्ध नभई श्रमिकको सम्मान, उचित पारिश्रमिक र न्यायपूर्ण कार्य वातावरणका लागि भएको बताएका छन् । तर, इनड्राइभ व्यवस्थापनले भने यसबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

1

Scroll to Top