पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुन पुग्यो । बजारमा ग्यासको सहज आपूर्ति नहुँदा एउटा सिलिन्डर पाउन हप्तौं कुर्नुपर्ने अवस्था आएको छ । उपभोक्ताले घण्टौं लाइन बसेर पनि खाली हात फर्कनुपर्ने अवस्था बन्यो ।
यसरी एकातिर ग्यास अभाव भएको छ भने अर्कातिर यही मौका पारेर भान्सामा दैनिक प्रयोग हुने तेल, दाल, चामल र घ्यूलगायत उपभोग्य वस्तुको मूल्य अधिक बढेको छ ।
दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै जाँदा यसको प्रत्यक्ष असर न्यून तथा मध्यम आय भएका परिवारमा परेको छ । विशेषगरी दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई दाल, चामल, तेललगायत अत्यावश्यक वस्तुको मूल्यवृद्धिले दैनिक खर्च धान्नै कठिन हुन थालेको छ ।
खुद्रा व्यापार संघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार एक महिनाको अवधिमै तोरीको तेल, भटमासको तेल, सनफलावर तेल, दाल र चामलको भाउ बढेको छ । बजारमा तेल र चामल लगायत खाद्य वस्तुहरूको मूल्यमा वृद्धि भएको खुद्रा व्यापार संघले जनाएको छ ।
होलसेल बजारमै यी वस्तुहरूको मूल्य बढेर आएकाले खुद्रा बजारमा पनि प्रभाव परेको संघका महासचिव आमुलकाजी तुलाधर बताउँछन् । ब्रान्ड र कम्पनीअनुसार मूल्यमा भिन्नता हुने हुँदा कुनैमा १०–१५ रुपैयाँ त कुनैमा १०० देखि १५० रुपैयाँसम्म मूल्य बढेको उनी बताउँछन् ।
संघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार १५ दिनको अवधिमा वनस्पति घिउ, तेल, दाल, चामल, गेडागुडी सबै खाद्यवस्तुको मूल्य वृद्धि भएको छ । यसले निश्चित र सीमित आम्दानी भएका सर्वसाधारणलाई १५ दिनमै भएको यो निरन्तर मूल्यवृद्धिले निकै सास्ती दिएको छ ।
छोटो समयमै बजार यसरी तात्तिँदा समेत सरकारी निकायबाट प्रभावकारी अनुगमन र मूल्य नियन्त्रण हुन नसकेको उपभोक्ता अधिकारकर्मीहरूको गुनासो छ । उपभोग्य वस्तुको मूल्यमा वृद्धि हुँदा यसले सोझै जनताको आयमाथि प्रहार गर्ने र आम नागरिकको भान्सा नै प्रभावित हुने गरेको छ ।
कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजार र डलरको भाउमा आउने उतारचढावले मूल्यमा सामान्य प्रभाव परेको नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष कुमुदकुमार दुगड बताउँछन् । खानेतेल भनेको कमोडिटी मार्केट हो, अन्तर्राष्ट्रिय मूल्य जसरी कच्चा तेलको मूल्य बढ्छ घट्छ, त्यही हिसाबले रिप्लेसमेन्ट भ्यालुमा काम गर्नुपर्ने उनको भनाइ छ ।
उनका अनुसार, पछिल्लो समय अन्तराष्ट्रिय तनाव बढेका कारण सम्पूर्ण कच्चा पदार्थको मूल्य बढेको छ । विशेषगरी इन्धनको मूल्यमा देखिएको उत्तरचढावका कारण नेपाली भान्सा महँगिएको हो ।
दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धिको मार उपभोक्ताले खेप्नुपरेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । बजारमा एकातिर आज ग्यास पाइएन भनेर उपभोक्ता रित्तै फर्किनुपर्ने अवस्था बन्न पुग्यो । अर्कोतिर, बजारमा अझै कालोबजारी बढ्दै गइरहेको छ, तर जिम्मेवार निकायको भने चासो नदेखिएको उनको गुनासो छ ।
मुलुकमा बलियो सरकार र जनप्रतिनिधिमूलक व्यवस्था भएपनि जनताले महँगी र अभावको मार खेप्नुपरेको छ । सरकार अभिभावक भएकाले जनताको चुलोचौका सहज बनाउने दायित्वबाट पन्छिन नहुने तिमिल्सिनाको तर्क छ ।
बजारको वर्तमान अवस्था, ग्यास आपूर्ति, दैनिक उपभोग्य वस्तुको मूल्यमा देखिएको असन्तुलनबारे अनुगमन भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तथा सूचना अधिकारी अनिल किरातीले बताए । अन्तर्राष्ट्रिय बजारबाट आयात हुने वस्तुको मूल्य बढेर आउनु, ढुवानी लागतमा वृद्धि हुनु र मनसुनका कारण यातायातमा आएको असहजताका कारण बजार मूल्यमा असर परेको बताइन्छ । समयमै यस्ता अत्यधिक मूल्यवृद्धिको नियन्त्रणका लागि पहल गर्नु आवश्यक छ ।


