Banijya News

तेह्रथुम पावरको नाफा बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

1
1.0K Shares

तेह्रथुम पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा ८ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत आवमा नाफामा झन्डै चार गुणाले वृद्धि भएको देखिएको छ । अघिल्लो आवमा कम्पनीको नाफा २ करोड ३० लाख २ हजार रुपैयाँ रहेको थियो । यसको तुलनामा गत आवमा २८८.४० प्रतिशतले नाफामा वृद्धि देखिएको हो ।

विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको वृद्धिका कारण कम्पनीको मुनाफामा यस्तो बढोत्तरी देखिएको हो । कम्पनीले गत वर्ष १८ करोड २६ लाख १२ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । अघिल्लो वर्ष १५ करोड ४९ लाख ४६ हजार रुपैयाँ मात्र थियो ।

अघिल्लो वर्ष १५ करोड ४१ लाख रुपैयाँभन्दा बढीले ऋणात्मक रहेको जगेडा कोष अहिले २ करोड ९० लाख ९४ हजार रुपैयाँले धनात्मक भएको छ । कम्पनीले हकप्रद शेयर जारी गर्दा संकलन भएको रकम र आर्जित नाफाका कारण जगेडा कोषको अवस्थामा ठूलो परिवर्तन आएको हो । यससँगै कम्पनीको प्रतिशेयर नेटवर्थ पनि ६१.४७ रुपैयाँबाट सुधारिएर १०३.६४ रुपैयाँ पुगेको छ । नाफामा आएको सुधारसँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि ५.७५ रुपैयाँबाट बढेर ११.१७ रुपैयाँ पुगेको छ ।

शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी ४० करोडबाट बढेर ८० करोड रुपैयाँ पुगेको छ । हकप्रदबाट प्राप्त रकमको ठूलो हिस्सा बैंकको दीर्घकालीन ऋण भुक्तानीमा उपयोग गरिएकाले कम्पनीको वित्तीय भार समेत घटेको छ । अघिल्लो वर्ष ८८ करोड २८ लाख रुपैयाँ रहेको दीर्घकालीन ऋण अहिले घटेर २९ करोड २९ लाख रुपैयाँमा झरेको छ ।

हाल ७.५ मेगावाटको अप्पर खोरुङ्गा खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले नयाँ आयोजनाको रुपमा खोरुङ्गा टाङ्माया २ आयोजना निर्माणको प्रक्रिया पनि अघि बढाएको छ ।

1

Scroll to Top