Banijya News

मासु र अन्डाको मूल्यवृद्धि तर मारमा किसान र उपभोक्ता !

1
1.0K Shares

पछिल्लो समयमा अन्डा र कुखुराको मासुमा पटक–पटक मूल्यवृद्धि भएको छ । साउन लागेयता अन्डाको भाउ चारपटक बढिसकेको छ भने कुखुराको मासुमा दुईपटक भाउ बढेको छ । छोटो समयमै पटक–पटक भएको मूल्यवृद्धिका कारण भान्सा महँगिएको छ ।

यसरी, बजारमा अन्डा र मासुको भाउ पटक–पटक बढ्दा एकातिर उपभोक्ता मारमा पर्ने गरेका छन् । अर्कातिर, किसानले उचित मूल्य नपाएको गुनासो गर्ने गरेका छन् । त्यसो भए फाइदा कसलाई भएको छ त ? सरोकारवालाहरु भन्छन्– यी दुईको बीचमा बसेका बिचौलिया र व्यापारीहरूले बजारलाई कब्जा गरेर रजगज गरिरहेका छन् ।

हुन पनि बजारमा बिचौलियाकै राज चलिरहेको छ । अन्डाको फार्म समर्थन मूल्य तोक्दै आएको नेपाल लेयर्स कुखुरापालक संघले साउन महिनामा मात्रै चार पटक सूचना निकालेर अन्डाको भाउ बढाएको छ । तथ्यांक हेर्ने हो भने २ साउनमा सबैभन्दा ठूलो -एक्सएल अन्डा)को फार्म मूल्य प्रतिक्रेट ४ सय ६५, ठूलो अन्डाको ४ सय ५० र मिडियम अन्डाको ४ सय २० रुपैयाँ थियो । तर, २६ साउनसम्म आइपुग्दा यो मूल्य ह्वात्तै बढेर एक्सएल ५ सय ६०, ठूलो ५ सय ४५ र मिडियम ५ सय रुपैयाँ पुगेको छ । बीचमा ६ र १३ साउनमा पनि मूल्य बढाइएको थियो । यसरी एक महिना नबित्दै किसानको खोरबाट निस्किने अन्डाको मूल्य प्रतिक्रेट ९५ रुपैयाँसम्म बढाइएको छ ।

तर विडम्बना, संघले अन्डाको मूल्य जति बढाए पनि सबै सूचनामा उपभोक्ता मूल्य भने प्रतिगोटा २५ रुपैयाँ तोकिएको छ । यद्यपि, खुद्रा पसलमा उपभोक्ताले एउटा अण्डाको ३० रुपैयाँसम्म तिर्नु परिरहेको छ । साइजअनुसार मूल्य फरक राखिए पनि खुद्रा बजारमा सबैको समान दर ३० रुपैयाँमा बेचिन्छ । व्यापारी तथा डिलरले पनि एउटै दरमा एकमुस्ट उठाउँछन् । यसरी, एकातिर किसानले कम मूल्य पाउने गर्दछन् भने अर्कातिर उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने हुन्छ । तर, साइज छुट्याएर किसानबाट सस्तो मूल्यमा अन्डा किनेका बिचौलिया र खुद्रा व्यापारीले बीचमा नाफा कुम्ल्याइरहेको आरोप उपभोक्ता र सरोकारवालाले लगाउँदै आएका छन् ।

यस्तो बिचौलियाको सिन्डिकेट कुखुराको मासुमा पनि लागू हुन्छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले २२ साउनमा जिउँदो कुखुरा र मासुको मूल्य बढाएको थियो । त्यसको चार दिन नबित्दै २६ साउनमा फेरि अर्को मूल्यवृद्धि लागू भइसकेको छ । यसअघि प्रतिकिलो २ सय ४० रुपैयाँ रहेको जिउँदो कुखुराको मूल्य बढाएर २ सय ५० रुपैयाँ पुगेको छ । त्यसैगरी, तयारी मासुको थोक मूल्य ३ सय ३० रुपैयाँबाट बढाएर ३ सय ४५ रुपैयाँ पुर्याइएको संघले जनाएको छ ।

तर, यो थोक मूल्य उपभोक्तासम्म आइपुग्दा निकै माथि पुगिसकेको हुन्छ । अहिले काठमाडौंका खुद्रा पसलहरूमा उपभोक्ताले एक किलो कुखुराको मासुको ३ सय ८० देखि ४ सय १० रुपैयाँसम्म तिर्न बाध्य छन् ।

त्यसो त, बर्डफ्लु र त्यसले उत्पादनमा पारेको असरका कारण मूल्य बढेको बताइन्छ । पशु सेवा विभागको तथ्यांकअनुसार पछिल्लो ४ महिनामा बर्डफ्लु संक्रमणबाट ८ लाख ३५ हजार ५ सय ६३ वटा पन्छी नष्ट गरिएको छ । साथै, १२ लाख २५ हजार ५ सय ३६ वटा अन्डा र २ लाख ६४ हजार २ सय १३ किलो दाना नष्ट गरिएको छ ।

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुका कारण देशभरि करिब १० देखि १२ लाख अन्डा दिने लेयर्स कुखुरा नष्ट भएका छन् । पहिलेको तुलनामा अहिले उत्पादन घटेको र बजारमा माग बढ्दा मूल्य बढेको बताउँछन् ।

बजारमा मूल्य बढेको देखिए पनि वास्तविक किसान भने अझै घाटामै रहेका छन् । किसानको एक क्रेट अन्डा उत्पादनको लागत ५ सय ७३ रुपैयाँ पुगे पनि उनीहरुले अझै पनि ठूलो अन्डाको ५ सय ४५ रुपैयाँ मात्र पाइरहेका छन् । उपभोक्ता मूल्य बढे पनि किसान भने अझै घाटामै रहेको देखिन्छ ।

किसानको पहुँच बजारसम्म नहुँदा सप्लायर्स, डिलरहरुमा भर पर्नु परेको छ । उनीहरुले जति मूल्य तोक्यो, त्यतिमै बेच्न किसान बाध्य छन् । यसको मारमा अन्ततः किसान र उपभोक्ता पर्ने गरेका छन् ।

यो सम्पूर्ण बेथितिको जड सरकारको फितलो अनुगमन संयन्त्र भएको अधिकारकर्मीहरु बताउँछन् । बजार हस्तक्षेप गर्ने निकायले मूल्यको अनुगमन र नियमन नगर्दासम्म व्यापारीहरूको चंगुलमा बजार फसिरहने उनीहरुको तर्क छ । उत्पादन घटेको बहानामा कार्टेलिङ गरेर रातारात भाउ बढाउने संघहरू र किसानबाट सस्तोमा अन्डा किनेर महँगोमा बेच्ने खुद्रा व्यापारीमाथि राज्यले अनुगमन गरी कारबाही गरे मात्र मूल्यमा केही नियन्त्रण हुने थियो कि ।

1

Scroll to Top