कुनै समय वित्तीय संकट र खराब कर्जाको दलदलमा फरेको गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा चामत्कारिक पुनरागमन गरेको छ । संस्थाले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार गोर्खाज फाइनान्सले गत असार मसान्तसम्म २१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो असार मसान्तसम्म संस्था १२ करोड १४ लाख रुपैयाँ खुद घाटामा रहेको फाइनान्सले उक्त ठूलो नोक्सानीलाई पुर्ति गर्दै गत आवमा लोभलाग्दो नाफा कमाउन सफल भएको हो । नाफामा आएको यो सुधारसँगै संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) पनि २५ रुपैयाँ २८ पैसा पुगेको छ । अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा ऋणात्मक थियो । नाफासँगै संस्थाको प्रतिशेयर नेटवर्थ पनि १६६ रुपैयाँ ३२ पैसा कायम भएको छ ।
संस्थाको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो वर्ष २९ करोड ५० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ३१ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यसैगरी, अघिल्लो वर्ष १४ करोड २७ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको फाइनान्सले यस वर्ष ३६ करोड ९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
कम्पनीको निक्षेप संकलनमा सामान्य गिरावट आए पनि कर्जा लगानी भने विस्तार भएको देखिन्छ । अघिल्लो वर्ष ९ अर्ब ४२ करोड रुपैयाँ निक्षेप रहेकोमा यस वर्ष ९ अर्ब ३८ करोडमा झरेको छ भने कर्जा प्रवाह ५ अर्ब ७१ करोडबाट बढेर ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको खराब कर्जा (एनपीएल) मा पनि सुधार देखिएको छ । अघिल्लो वर्ष १७.४६ प्रतिशत पुगेको खराब कर्जा गत वर्ष घटेर १३.३२ प्रतिशतमा आएको छ । यद्यपि, यो अझै उच्च विन्दुमा रहेकाले ऋण असुलीलाई अझै प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । संस्थाले सम्भावित जोखिमका लागि छुट्याएको इम्पेयरमेन्ट चार्जमा पनि उल्लेख्य कमी आएको छ ।
कुल चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको यस फाइनान्सको जगेडा कोषमा १ अर्ब १ करोड रुपैयाँ सञ्चित छ । तर, वितरणयोग्य नाफा भने अझै ४४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक देखिन्छ । अघिल्लो वर्ष संस्थाको वितरणयोग्य मुनाफा ७० करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

