Banijya News

अब ब्रोकरबाटै मार्जिन कारोबार, १२३ कम्पनीका सेयर योग्य, कुन–कुन परे ?

1
1.0K Shares

सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा लिनुको विकल्पमा अब आफूले कारोबार गर्ने ब्रोकर कम्पनीमार्फत नै मार्जिन कारोबार सुविधा लिन सक्ने भएका छन् ।

नेपाल धितोपत्र बोर्डको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ ले लगानीकर्तालाई ब्रोकरमार्फत सेयर खरिदका लागि यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो ।

निर्देशिकाअनुसार मार्जिन कारोबार सुविधा बढीमा एक वर्षका लागि लिन सकिनेछ । आवश्यक प्रक्रिया पूरा गरी उक्त सुविधा नवीकरणसमेत गर्न सकिने व्यवस्था छ । तर, सबै सूचीकृत कम्पनीका सेयरमा मार्जिन कारोबार गर्न पाइने छैन ।

हाल नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २७९ कम्पनीमध्ये १२३ कम्पनीका सेयर मार्जिन कारोबारका लागि योग्य रहेका छन् । योग्य कम्पनीमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, बीमा, जलविद्युत्लगायत विभिन्न क्षेत्रका कम्पनी छन् ।

मार्जिन कारोबार सुरु गर्दा लगानीकर्ताले सम्बन्धित सेयरको पछिल्लो १८० दिनको औसत अन्तिम बजार मूल्य र हालको बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशत रकम सुरु मार्जिनका रूपमा जम्मा गर्नुपर्नेछ । बाँकी रकम ब्रोकरले मार्जिन ऋणका रूपमा उपलब्ध गराउन सक्नेछ । यसरी आवश्यक मार्जिन रकम जम्मा गरेपछि लगानीकर्ताले ब्रोकरमार्फत योग्य कम्पनीको सेयर खरिद गर्न सक्नेछन् ।

मार्जिन ऋणमा ब्रोकरले तोकेको ब्याजदर लागू हुनेछ भने कारोबारमा सेवा शुल्कसमेत लाग्न सक्छ । निर्देशिकाअनुसार सेवा शुल्क सामान्यतः ०.१ देखि ०.५ प्रतिशतसम्म हुन सक्ने व्यवस्था छ ।

मार्जिन सुविधा लिन लगानीकर्ताले सम्बन्धित ब्रोकर कम्पनीमा आवेदन दिनुपर्नेछ । त्यसका लागि केवाईसी विवरण अद्यावधिक गर्नुका साथै कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको स्वघोषणा, आवश्यक कागजात तथा प्रतिबद्धता पेश गर्नुपर्नेछ । त्यसपछि तोकिएको डिपीमा छुट्टै मार्जिन खाता खोल्नुपर्नेछ । ब्रोकर र लगानीकर्ताबीच सम्झौता सम्पन्न भएपछि मात्र मार्जिन कारोबार प्रक्रिया अघि बढ्नेछ ।

यस व्यवस्थाले लगानीकर्तालाई थप वित्तीय स्रोत प्रयोग गरी सेयर बजारमा लगानी गर्ने अवसर दिने भए पनि ऋणको ब्याज तथा बजार मूल्य घट्दा हुने जोखिमलाई ध्यान दिनुपर्ने देखिन्छ ।

1

Scroll to Top