कृषि क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने समस्या समाधान गर्न सरकारले आपूर्ति शृंखला सुधारमा सक्रियता बढाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष पहलमा कृषि उपजको उत्पादनदेखि उपभोक्तासम्म पुग्ने प्रक्रियामा रहेका अनावश्यक तह घटाउने तयारी अघि बढाइएको हो । कृषि उपजको मूल्यमा देखिएको ठूलो अन्तरको अध्ययन गरी व्यावहारिक समाधान पहिचान गर्न गठित ‘आपूर्ति शृंखला सुधारका लागि सुझाव कार्यदल’ले स्थलगत अध्ययन तथा तथ्यांक संकलनलाई तीव्र बनाएको छ ।
कृषि विभागका उपमहानिर्देशक डा. दिवसराज विष्टको संयोजकत्वमा गठित कार्यदलले देशका प्रमुख कृषि उत्पादन क्षेत्र तथा बजारको अवस्थाबारे अध्ययन गरिरहेको छ । कार्यदलको प्रारम्भिक अध्ययनले किसानको खेतदेखि उपभोक्ताको भान्सासम्म कृषि उपज पुग्दा कम्तीमा पाँच तहका बिचौलिया संलग्न हुने गरेको देखाएको छ ।
उत्पादन, संकलन, थोक बिक्री, वितरणलगायतका विभिन्न चरणमा धेरै तह थपिँदा किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर देखिएको हो । सरकारले यस्तो लामो आपूर्ति शृंखलालाई घटाएर दुई वा तीन तहमा सीमित गर्ने लक्ष्य लिएको छ ।
कार्यदलको प्रारम्भिक अनुमानअनुसार बिचौलियाका अनावश्यक तह घटाउन सके किसानले हाल पाइरहेको मूल्यमा करिब ३० प्रतिशतसम्म वृद्धि हुन सक्नेछ । यसबाट किसानको आम्दानी बढ्नुका साथै उपभोक्ताले पनि तुलनात्मक रूपमा उचित मूल्यमा कृषि उपज खरिद गर्न सक्ने अपेक्षा गरिएको छ ।
सरकारले परम्परागत बजार प्रणालीलाई मात्र निरन्तरता नदिई प्रविधिको प्रयोगमार्फत कृषि उपजलाई उत्पादनस्थलबाटै उपभोक्तासम्म पुर्याउने विकल्पमा समेत जोड दिएको छ । यसका लागि प्रविधिमा आधारित डेलिभरी तथा कृषि आपूर्ति सेवा सञ्चालन गर्ने स्टार्टअपलाई प्रोत्साहन गर्ने योजना अघि सारिएको छ । यस्ता प्रणालीले किसान र उपभोक्ताबीचको दूरी घटाउनुका साथै मूल्य निर्धारणलाई थप पारदर्शी बनाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ ।
सुधारका ठोस उपाय पहिचान गर्न कार्यदलले देशका १२ वटा प्रमुख कृषि बजार तथा उत्पादनस्थलबाट तथ्यांक संकलन गरिरहेको छ । करिब १५ दिनदेखि सक्रिय रहेको कार्यदलले बजारको मागअनुसार उत्पादन गर्ने प्रणाली, सुरक्षित भण्डारण, आधुनिक प्रशोधन तथा प्याकेजिङ र कृषि उपजमा हुने नोक्सानी न्यूनीकरणका उपायबारे समेत अध्ययन गरिरहेको छ ।
त्यसैगरी, किसानलाई बजारको माग, मूल्य र सम्भावित बिक्री अवस्थाबारे समयमै जानकारी उपलब्ध गराउने ‘बजार सूचना प्रणाली’ विकास गर्ने विषयमा पनि कार्यदलले सुझाव दिनेछ । यसले मागअनुसार उत्पादन बढाउन तथा बिक्री नहुने कारणले हुने कृषि उपजको क्षति घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कृषि, वन तथा वातावरण मन्त्रालयसहित सम्बन्धित सरोकारवालाबीचको छलफलपछि गठन गरिएको कार्यदलले आफ्नो अध्ययन पूरा गरी आगामी एक महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ । प्रतिवेदनमा नीतिगत निर्णयसँगै कार्यान्वयन गर्न सकिने ठोस उपायसमेत समेटिने बताइएको छ ।
सरकारको यो पहल प्रभावकारी रूपमा कार्यान्वयन भए कृषि क्षेत्रमा रहेको मूल्य अन्तर घट्नुका साथै किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न र उपभोक्तालाई राहत दिन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।


