नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल ग्राहकले अब सिमकार्ड नामसारीका लागि आवश्यक विवरण अनलाइनबाटै भर्न सक्ने भएका छन् । टेलिकमले पोस्टपेड सिमकार्ड एक व्यक्तिको नामबाट अर्को व्यक्तिको नाममा हस्तान्तरण गर्ने प्रक्रियालाई सहज बनाउन अनलाइन सेवा सुरु गरेको हो ।
नयाँ व्यवस्थाअनुसार ग्राहकले टेलिकमको कस्टमर लगइन पोर्टलमा प्रवेश गरी नामसारीका लागि आवश्यक विवरण भर्न सक्नेछन् । पोर्टलमा मोबाइल नम्बर राखेपछि ग्राहकको मोबाइलमा ओटीपी प्राप्त हुनेछ । त्यसपछि हालको ग्राहक तथा नामसारी गरिने नयाँ ग्राहकका व्यक्तिगत विवरण प्रविष्ट गर्नुपर्नेछ ।
नामसारी प्रक्रियाका क्रममा पछिल्लो एक महिनामा कल गरिएका पाँचवटा मोबाइल नम्बरसमेत पोर्टलमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । सबै आवश्यक विवरण अनलाइनमा भरेपछि अन्तिम प्रमाणीकरणका लागि भने ग्राहकले नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ ।
नामसारीका लागि तोकिएको दस्तुर बुझाउनुका साथै सक्कल नागरिकता लिएर स्वयं उपस्थित भई अन्तिम प्रमाणीकरण गर्न सकिनेछ । कार्यालयमा आफैं उपस्थित हुन नसक्ने सेवाग्राहीले प्रतिनिधिमार्फत समेत प्रमाणीकरण गराउन सक्ने सुविधा टेलिकमले दिएको छ ।
हाललाई अनलाइन नामसारी सेवा व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध गराइएको छ । कर्पोरेट ग्राहकका लागि भने पुरानै प्रक्रियाअनुसार दूरसञ्चार कार्यालयमै उपस्थित भएर नामसारी गर्नुपर्नेछ ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अनलाइनबाट आवश्यक विवरण पहिले नै भर्न सकिने भएपछि पोस्टपेड सिम नामसारीको प्रक्रिया थप सहज हुनेछ । यस व्यवस्थाले कार्यालयमा लामो समय बिताउनुपर्ने अवस्थालाई कम गर्नुका साथै सेवाग्राहीलाई नामसारी प्रक्रियामा थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।


