Banijya News

शिवशक्ति एग्रोको कारोबार साढे १ अर्ब नाघ्यो, ऋणमा उच्च निर्भरता

1
1.0K Shares

शिवशक्ति एग्रो एन्ड फुडस् इन्डष्ट्रिजले गत आर्थिक वर्षमा १ अर्ब ४० करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार एक वर्षमा कम्पनीको कारोबार करिब १० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले सन् २०२५ मा १ अर्ब २७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यसअघि सन् २०२४ मा १ अर्ब २४ करोड १० लाख, सन् २०२३ मा ७३ करोड ८० लाख र सन् २०२२ मा ६१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीका अनुसार गत आर्थिक वर्षमा उत्पादन क्षमता विस्तार गर्दै मकै र गहुँको समेत कारोबार सुरु गरेपछि आम्दानीमा वृद्धि भएको हो । नयाँ उत्पादन तथा कारोबार विस्तारसँगै कम्पनीको कुल बिक्री बढेको देखिएको छ ।

यद्यपि, कम्पनीको सञ्चालन मार्जिन भने केही घटेको छ । गत आवमा कम्पनीले ५.९७ प्रतिशत सञ्चालन मार्जिन कायम गरेको छ । सन् २०२५ मा यस्तो मार्जिन ६.५२ प्रतिशत रहेको थियो ।

कम्पनीले गत आवमा १ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष अर्थात् सन् २०२५ मा कम्पनीको खुद नाफा १ करोड रुपैयाँ थियो । कारोबार विस्तारसँगै खुद नाफामा पनि सामान्य सुधार भएको देखिन्छ ।

कम्पनीको नगद सञ्चिति पनि बढेको छ । गत आवको अन्त्यमा कम्पनीसँग २ करोड ५० लाख रुपैयाँ नगद सञ्चिति रहेको छ । सन् २०२५ मा यस्तो सञ्चिति २ करोड ४० लाख रुपैयाँ थियो ।

कम्पनीको पुँजीगत संरचना भने अझै उच्च ऋणमा निर्भर रहेको छ । सन् २०२४ मा ५५ करोड ९० लाख रुपैयाँ रहेको कुल ऋण सन् २०२५ मा बढेर ८९ करोड ५० लाख रुपैयाँ पुगेको थियो । गत आवमा भने कुल ऋण केही घटेर ८७ करोड रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको समग्र गियरिङ अनुपात २.८४ गुणा रहेको छ । सन् २०२५ मा यो अनुपात ३.३६ गुणा थियो । त्यस्तै, कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थको अनुपात पनि सुधार भएर २.८५ गुणामा झरेको छ । सन् २०२५ मा यस्तो अनुपात ३.४६ गुणा थियो ।

ऋण कभरेज सूचक भने स्थिर रहेको छ । कम्पनीको ब्याज कभरेज अनुपात गत आवमा १.५० गुणा रहेको छ, जुन सन् २०२५ मा १.४९ गुणा थियो । त्यस्तै, ऋण सेवा कभरेज अनुपात १.४६ गुणा रहेको छ । अघिल्लो वर्ष यो अनुपात १.४३ गुणा थियो ।

विश्वनाथ साह रौनियार अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ७८ करोड १२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५ करोड १२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७३ करोड रुपैयाँको रेटिङ गराएको हो ।

सन् २०१८ मा स्थापना भएको शिवशक्ति एग्रोले धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ । कम्पनीसँग प्रतिघण्टा १२ मेट्रिक टन धान प्रशोधन गर्ने क्षमता रहेको छ । कम्पनीले ‘शिव’, ‘परम’ र ‘किचेन मास्टर’ ब्रान्डमा प्रशोधित चामल बिक्री वितरण गर्दै आएको छ ।

1

Scroll to Top