Banijya News

गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने १४२ उद्योगविरुद्ध मुद्दा

1
1.0K Shares

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने गरी गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन र बिक्री–वितरण गर्ने १४२ उद्योग तथा व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले आर्थिक वर्ष २०८२/८३ मा गरेको बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा मापदण्डविपरीत भेटिएका फर्म तथा उद्योगविरुद्ध कानुनी कारबाही अघि बढाएको हो ।

विभागका अनुसार गत आर्थिक वर्षमा देशभरका विभिन्न उद्योग तथा बजारबाट ३ हजार ३६५ वटा खाद्य नमुना संकलन गरिएको थियो । तीमध्ये २ हजार ९४८ नमुनाको विस्तृत विश्लेषण तथा परीक्षण गर्दा १२७ वटा नमुना अर्थात् ४.३० प्रतिशत मापदण्डविपरीत तथा प्रतिकूल पाइएको थियो । गुणस्तरहीन पुष्टि भएका नमुनाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा गम्भीर कैफियत भेटिएपछि विभागले विभिन्न खाद्य सामग्री बजारबाट फिर्ता गर्न २९ पटक आदेशसमेत जारी गरेको थियो । बजारबाट फिर्ता गरिएका सामग्रीमा प्रशोधित पिउने पानी, दालमोठ, भुजिया, बिस्कुट, आइसक्रिम, मह, तोरीको तेल तथा मसला लगायत छन् । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको पाइए खाद्य ऐनको दफा ३८ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार सबैभन्दा बढी कैफियत खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा देखिएको छ । खाद्यान्न तथा दलहनतर्फ ४७ वटा, प्रशोधित पिउने पानीतर्फ २१ वटा, दूध तथा दुग्ध पदार्थतर्फ १७ वटा र तेल तथा घ्यूतर्फ ९ वटा नमुना मापदण्डविपरीत भेटिएका छन् । फलफूल, सागपात, दाना, मसला तथा मिठाईजन्य पदार्थमा समेत गुणस्तरसम्बन्धी समस्या देखिएको विभागले जनाएको छ ।

यस अवधिमा विभागले मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत १२३ पटक बजार अनुगमन तथा नमुना परीक्षण गरेको थियो । विभाग र मातहतका कार्यालयहरूले एकल तथा संयुक्त रूपमा १२ हजार ८०६ पटक निरीक्षण तथा अनुगमन गरेका थिए । सामान्य कैफियत देखिएका उद्योगलाई सुधारका लागि निर्देशन दिइएको छ भने गम्भीर लापरबाही गर्ने उद्योग तथा व्यवसायीविरुद्ध मुद्दा चलाइएको विभागले जनाएको छ ।

विभागले उपभोक्तालाई खाद्य सामग्री खरिद गर्दा लेबल, उत्पादन मिति तथा गुणस्तरसम्बन्धी विवरण जाँच गरेर मात्र सामग्री खरिद गर्न आग्रह गरेको छ । कुनै खाद्य वस्तुको गुणस्तरप्रति शंका लागेमा विभागमा जानकारी गराउनसमेत विभागले अनुरोध गरेको छ ।

1

Scroll to Top