चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालले धान तथा चामल आयातमा करिब पौने २ अर्ब रुपैयाँ विदेश पठाएको छ । भन्सार विभागको तथ्यांकअनुसार, साउनमा १ अर्ब ७८ करोड ८ लाख २९ हजार रुपैयाँ बराबरको २४ हजार ९ सय ३९ टन धान तथा चामल नेपाल भित्रिएको हो ।
यद्यपि, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसपटक धानचामल आयातको परिमाण र आयातमा खर्च भएको रकम दुवै घटेको छ । आर्थिक वर्ष २०८२/८३ को साउनमा नेपालले २ अर्ब ९२ करोड ८३ लाख ६२ हजार रुपैयाँ बराबरको ५७ हजार ८३ टन धानचामल आयात गरेको थियो । यस आधारमा एक वर्षमा आयात परिमाण ३२ हजार १ सय ४४ टन र खर्च १ अर्ब १४ करोड ७५ लाख रुपैयाँभन्दा बढीले घटेको देखिन्छ ।
यस वर्ष पनि नेपालको धानचामल आयातमा चामल र बासमतीको हिस्सा ठूलो छ । साउनमा मात्रै ८३ करोड ३३ लाख २४ हजार रुपैयाँ बराबरको ११ हजार ८ सय ५२ टन चामल आयात भएको छ । यसमध्ये ११ हजार ८ सय ५१ टन भारतबाट आएको हो भने २४० किलो इटालीबाट आयात भएको छ ।
त्यसैगरी, बासमती चामल आयातमा मात्रै ५६ करोड ८५ लाख ९१ हजार रुपैयाँ बाहिरिएको छ । एक महिनामा ४ हजार १ सय २५ टन बासमती आयात भएकोमा यसको सम्पूर्ण हिस्सा भारतबाट आएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालले तयारी चामलसँगै ठूलो परिमाणमा नकुटेको धानसमेत आयात गरिरहेको छ । साउनमा ३६ करोड ५० लाख १७ हजार रुपैयाँ बराबरको ८ हजार ६ सय २८ टन धान आयात भएको छ । उक्त सम्पूर्ण धान भारतबाट आएको हो ।
चामलको कनिका आयातमा पनि १ करोड ३३ लाख ७ हजार रुपैयाँ बाहिरिएको छ। भारतबाट ३ सय ३२ टन कनिका आयात भएको विभागको तथ्यांक छ ।
यता, ब्राउन राइस र धानको बिउको आयात भने तुलनात्मक रूपमा न्यून छ । साउनमा ८९ हजार रुपैयाँ बराबरको ६ सय २५ किलो ब्राउन राइस आयात भएको छ । त्यसमध्ये ५ सय किलो थाइल्यान्ड र १ सय २५ किलो भारतबाट आएको हो ।
धानको बिउ आयातमा भने चीनको हिस्सा भारतभन्दा बढी देखिएको छ । एक महिनामा ५ लाख १ हजार रुपैयाँ बराबरको ६७ किलो धानको बिउ आयात भएकोमा चीनबाट ४७ किलो र भारतबाट २० किलो आएको छ । मूल्यका आधारमा चीनबाट ४ लाख ९९ हजार रुपैयाँ र भारतबाट २ हजार रुपैयाँ बराबरको बिउ आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
यसले समग्र आयात घटेपनि नेपालको खाद्यान्न आवश्यकतामा विदेशी, विशेषगरी भारतीय बजारमाथिको निर्भरता अझै उच्च रहेको देखाएको छ ।


