Banijya News

भोटेकोशीमा भीषण बाढी : रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति

1
1.0K Shares

तिब्बततर्फबाट आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति भएको पाइएको छ । बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट अचानक आएको भीषण बाढीका कारण रसुवाको भोटेकोशी नदीमा आएको बाढी विनाशकारी बन्न पुगेको हो ।

अर्थ मन्त्रालयका अनुसार अहिले कर्मचारीहरूसँग सम्पर्क गर्ने काम भइरहेको छ । धेरै कर्मचारी आफ्नो फोन र सामानहरु छाडेर भागेका छन् । जसले गर्दा सबै विवरण संकलन हुन समय लाग्ने अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार रसुवागढी भन्सारमा ३६ जनाको दरवन्दी थियो । जसमध्ये २ जना बिदामा थिए । रसुवागढी भन्सारको यार्डमा रहेका सबै सवारी साधन बगेका छन् ।

भन्सार यार्डमा आयात प्रक्रियामा रहेका तथा जाँचपासको प्रतीक्षामा रहेका सवारीसाधन कति थिए र तिनको कुल मूल्य कति थियो भन्ने विवरण भने सार्वजनिक भएको छैन ।

रसुवागढी नेपाल–चीन व्यापारको प्रमुख स्थल नाकामध्ये एक हो । बाढीले भन्सार पूर्वाधार नै ध्वस्त बनाएपछि तत्कालका लागि यस नाकाबाट हुने आयात–निर्यात तथा भन्सार जाँचपाससमेत गम्भीर रूपमा प्रभावित हुने देखिएको छ ।

अर्थ मन्त्रालयले भन्सारको भौतिक संरचना, सवारीसाधन, मालवस्तु तथा अन्य सम्पत्तिमा भएको वास्तविक क्षतिको विवरण संकलन भइरहेको जनाएको छ । विस्तृत विवरण आएपछि मात्र क्षतिको आर्थिक परिमाण यकिन हुने बताइएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले टिमुरे बजारसहित तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । आकस्मिक बाढीले दर्जनौँ घर तथा बस्तीमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

यसपटकको बाढी गत वर्षको तुलनामा कम्तीमा १० गुणा ठूलो र विनाशकारी रहेको प्रारम्भिक आँकलन गरिएको छ । बाढीबाट जनधनको ठूलो क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

बाढीका कारण दर्जनौँ बस्ती तथा बजार प्रभावित भएका छन् । तटीय क्षेत्रमा परिचालित नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका केही टोलीसँग समेत सम्पर्क स्थापित हुन सकेको छैन ।

बाढीबाट भएको वास्तविक क्षति, मानवीय क्षति तथा बेपत्ता व्यक्तिको विवरण अझै स्पष्ट हुन सकेको छैन । उद्धार तथा खोजी कार्यका लागि सुरक्षा निकाय परिचालनको प्रयास भइरहेको छ ।

यसैबीच, भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवासँगै नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रमा समेत जोखिम बढेको छ । ती क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

1

Scroll to Top