Banijya News

रसुवाको बाढीले ऊर्जा पूर्वाधारमा व्यापक क्षति

1
1.0K Shares

रसुवामा बुधबार आएको भीषण बाढीले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा विद्युत् वितरण संरचनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा रसुवा र आसपासका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रसँग सम्बन्धित संरचनामा क्षति पुगेको छ । त्यस्तै त्रिशूली–३ ‘बी’ हबअन्तर्गतको २२० केभी सबस्टेसनसमेत बाढीबाट प्रभावित भएको छ । त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा विभिन्न वितरण संरचनामा पनि बाढीको असर परेको प्राधिकरणले जनाएको छ ।

ऊर्जा उत्पादनदेखि प्रसारण र वितरणसम्मका महत्वपूर्ण संरचनामा क्षति पुगेपछि विद्युत् प्रणालीमा प्रत्यक्ष प्रभाव परेको हो । केही क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य क्षेत्रमा समेत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले क्षतिग्रस्त संरचनाको अवस्थाबारे प्राविधिक टोलीमार्फत अध्ययन तथा पहिचानको काम अघि बढाएको छ । विद्युत् आपूर्ति यथाशीघ्र नियमित गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइने प्राधिकरणले जनाएको छ । आपूर्ति सहज नहुँदासम्म धैर्य गर्न उपभोक्तालाई आग्रह गरिएको छ ।

बाढीले विद्युत् संरचनाका अतिरिक्त घर, सडक, पुललगायत अन्य भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ । ऊर्जा पूर्वाधारमा भएको क्षतिको वास्तविक परिमाण भने विस्तृत प्राविधिक मूल्यांकनपछि मात्र यकिन हुने प्राधिकरणले जनाएको छ ।

बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाका तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । प्राधिकरणका कर्मचारीलाई समेत जोखिमयुक्त क्षेत्रमा सावधानीपूर्वक काम गर्न निर्देशन दिइएको छ ।

पछिल्लो बाढीका कारण महत्वपूर्ण ऊर्जा संरचनामा पुनः क्षति पुगेपछि विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीमा थप दबाब पर्ने देखिएको छ । प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्य प्रभावकारी बनाउन सम्बन्धित निकायलाई समन्वयात्मक रूपमा परिचालित हुन आग्रह गरेको छ ।

1

Scroll to Top