Banijya News

त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन नाट्टाको आग्रह

1
1.0K Shares

नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले रसुवाको स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नाट्टाले त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

चीनको तिब्बत क्षेत्रमा आएको बाढीका कारण रसुवाका विभिन्न स्थानमा ठूलो क्षति पुगेको र तल्लो तटीय क्षेत्रमा थप जोखिम बढ्न सक्ने भन्दै नाट्टाले सार्वजनिक सूचना जारी गरेको हो ।

नाट्टाका अनुसार, हाल करिब ५०० जना विदेशी पर्यटक र सोही हाराहारीमा नेपाली तीर्थयात्री कैलाश–मानसरोवर यात्राका क्रममा रहेका छन् । बाढी तथा सञ्चार अवरोधका कारण उनीहरूको यात्रा प्रभावित हुनुका साथै सुरक्षा चुनौतीसमेत बढेको नाट्टाले जनाएको छ । नाट्टाले यात्रामा रहेका पर्यटक तथा तीर्थयात्रीको सुरक्षाका लागि भगवान् पशुपतिनाथसँग प्रार्थना गरेको जनाएको छ ।

नाट्टाले कैलाश–मानसरोवर यात्रामा रहेका पर्यटक, तीर्थयात्री, ट्राभल एजेन्सी, टुर अपरेटर तथा गाइडलाई स्थानीय अवस्थाबारे नियमित जानकारी लिन र सम्बन्धित निकायको निर्देशनअनुसार मात्र यात्रा अघि बढाउन आग्रह गरेको छ । आपत्कालीन अवस्था आएमा ज्येष्ठ नागरिक, बालबालिका तथा अशक्त व्यक्तिको सुरक्षालाई पहिलो प्राथमिकता दिनसमेत अनुरोध गरिएको छ ।

विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका त्रिशूली नदी आसपासका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित बाढी तथा डुबानप्रति सचेत रहन नाट्टाले आग्रह गरेको छ ।

नदी किनार तथा तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, सुरक्षित र उच्च स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायका आधिकारिक सूचनाको पालना गर्न पनि नाट्टाले अनुरोध गरेको छ ।

सम्भावित संकटलाई ध्यानमा राख्दै सरकारी निकाय, स्थानीय प्रशासन र सुरक्षा संयन्त्रलाई प्रभावकारी समन्वय तथा उद्धारका लागि तयारी अवस्थामा रहन नाट्टाले माग गरेको छ । आपत्कालीन उद्धारका लागि सरकारी टोल–फ्री नम्बर १२३४, १०० र ११११ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

1

Scroll to Top