नेप्से परिसूचक आज बुधबार उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३५.९२ अंक घटेर २५५८.३५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.०० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ ।
रसुवामा आएको आकस्मिक बाढीका कारण त्यहाँका जलविद्युत् परियोजनाहरुमा क्षति पुगेको छ । यसको असर बुधबारको शेयर बजारमा देखिएको छ । आज नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीहरुको शेयरमूल्य उच्च घटेको छ ।
यस दिन रसुवागढी हाइड्रोपावर कम्पनी र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने त्रिशुली जलविद्युत् कम्पनीको शेयरमूल्य करिब १३ प्रतिशत घटेको छ । त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत्को शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी घटेको छ भने साञ्जेन जलविद्युत् कम्पनीको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से घटेपनि बुधबार कारोबार रकम भने बढेको छ । अघिल्लो दिन मंगलबार ४ अर्ब १० करोड ९७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य १५८ रुपैयाँ २० पैसा बढेर १ हजार २१२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे १० प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन चिलिमे हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २० करोड ५६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब साढे १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने साहस उर्जाको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.९० प्रतिशत घटेको छ । त्यस्तै, यस दिन जलविद्युत् उपसमूहको परिसूचक करिब ३ प्रतिशत घटेको छ भने वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

