Banijya News

बाढीपीडितका लागि एनआरएनएको पाँच करोडको राहत प्याकेज घोषणा

1
1.0K Shares

त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ करोड रुपैयाँ बराबरको सहायता परिचालन गर्ने भएको छ । संघले प्रारम्भिक चरणमै प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्‍याउन थालेको जनाएको छ ।

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोलीले नुवाकोटको बट्टार, त्रिशूली बजारलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । टोलीले प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, औषधि तथा टेन्ट वितरण गरेको जनाएको छ ।

स्थलगत अवस्थाको निरीक्षणपछि डा. महतोले सार्वजनिक भएका विवरणको तुलनामा घटनास्थलमा क्षतिको अवस्था निकै गम्भीर रहेको बताए । तत्काल उद्धार र राहतलाई प्राथमिकतामा राख्दै पहिलो चरणमा आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको उनको भनाइ छ ।

महतोका अनुसार प्रारम्भिक राहतका लागि ५ करोड रुपैयाँ बराबरको सहायता परिचालन गरिनेछ । राहतको पहिलो चरण सम्पन्न भएपछि नेपाल सरकारसँग समन्वय गरी प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरआवासीय नेपाली समुदायको सहभागिताबारे छलफल अघि बढाइनेछ ।

एनआरएनए उपाध्यक्ष राईले विपद्को समयमा विदेशमा रहेका नेपालीहरू प्रभावित नागरिकको सहयोगमा जुट्न इच्छुक रहेको बताइन् ।उनका अनुसार, आपत्कालीन बैठकबाट ५ करोड रुपैयाँको राहत प्याकेज घोषणा गरिएपछि संयुक्त राष्ट्रसंघीय मापदण्डअनुसारका टेन्ट, खाद्यान्न र औषधिलगायत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको हो ।

राहत वितरणलाई व्यवस्थित बनाउन संघले स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारीको कार्यालय र स्थानीय तहसँग समन्वय गर्ने जनाएको छ । भूकम्प र कोभिड–१९ महामारीका समयमा पनि सहयोग गरेको स्मरण गर्दै राईले पुनःस्थापना र पुनर्निर्माणमा समेत सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइन् ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनासहित सुरक्षा निकायले बेपत्ता व्यक्तिको खोजी तथा घाइतेको उद्धार जारी राखेका छन् । एनआरएनएको टोलीले नुवाकोटपछि अन्य प्रभावित जिल्लामा समेत पुगेर आवश्यक राहत सामग्री उपलब्ध गराउने योजना बनाएको छ ।

1

Scroll to Top