Banijya News

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा कति भए बन्द ?

1
1.0K Shares

एक वर्षको अवधिमा म्याग्दीमा एक सय ६५ वटा नयाँ उद्योग–व्यवसाय थपिएका छन् । गत आर्थिक वर्ष २०८२/८३ मा एकीकृत सेवा कार्यालयमा ७० वटा उद्योग र ९५ वटा व्यवसाय दर्ता भएका हुन् ।

एक वर्षको सो अवधिमा ८२ वटा उद्योग व्यवसाय बन्द भएका छन् । उक्त अवधिमा ४१/४१ वटा उद्योग र व्यवसायको दर्ता खारेजी भएको कार्यालयका प्रमुख शमशेर घर्ती क्षेत्रीले बताएका छन् । उनका अनुसार, ५६१ उद्योग र ४८३ व्यवसाय नवीकरण भएका छन् । हालसम्म म्याग्दीमा तीन हजार ४९० उद्योग र तीन हजार ५५ व्यवसाय दर्ता भएका छन् ।

उद्योग, व्यवसाय दर्ता नवीकरणबापत गत आवमा रु १९ लाख ३० हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । अघिल्लो वर्ष रु ३० लाख २५ हजार ७७४ राजस्व संकलन भएको थियो ।

पछिल्ला केही वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने क्रम बढेको छ । आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायी वैकल्पिक पेसा रोज्ने र पलायन हुँदा व्यवसाय दर्ता घटेको र बन्द हुने दर बढेको हो ।

आव २०८१/८२ मा म्याग्दीमा ७० उद्योग र ८५ व्यवसाय दर्ता हुँदा ४२ उद्योग र ४८ वटा व्यावसायिक फर्म बन्द भएका थिए । आव २०८०/८१ मा २११ उद्योग, व्यवसाय दर्ता भएकामा ८४ खारेज भएका थिए । चौध उद्योग र २९ व्यावसायिक फर्म खारेज भएको आव २०७९/८० मा १०१ उद्योग र ११० वटा व्यावसायिक फर्म दर्ता भएका थिए ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठका अनुसार, घट्दो जनसंख्या, बसाइसराइ, वैदेशिक रोजगारी, स्थानीय तहमा मात्र दर्ता गरेर आन्तरिक राजस्व कार्यालयबाट पान नम्बर पाइने र कोरोना महामारीपछि आर्थिक मन्दीको असर उद्योग व्यवसाय दर्ता तथा खारेजीमा परेको हो ।

फेन्सी, हार्डवेयर र होटल तथा रेष्टुरेष्टको व्यापार घटे पनि सटर बन्द नभएका तथा पर्यटनमूलक होटल व्यवसाय बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ । उनका अनुसार, ग्रामीण क्षेत्रका उद्यमी र व्यवसायीले स्थानीय तहमै दर्ता गरेर पान नम्बर लिन पाउने व्यवस्था भएपछि प्रदेश सरकारअन्तर्गतको पर्यटन तथा उद्योग कार्यालयमा दर्ता नगर्ने तथा खारेज गर्न थालिएको हो ।

1

Scroll to Top