बाढीपहिरोका कारण काठमाडौंलाई देशका प्रमुख आपूर्ति केन्द्रसँग जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएपछि राजधानीको बजारमा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुने जोखिम बढेको छ । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा भएको क्षतिले तरकारी, खाद्यान्न, खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थको ढुवानीमा अवरोध सिर्जना गरेको हो ।
मुख्य सडक बन्द भएपछि सरकारले तथा सडक विभागले वैकल्पिक मार्ग प्रयोग गरी अत्यावश्यक वस्तुको आपूर्ति कायम राख्न आग्रह गरेका छन् । तर, वैकल्पिक सडकबाट सामान ढुवानी गर्दा दूरी, समय र लागत बढ्ने भएकाले त्यसको प्रत्यक्ष असर बजारमा पर्न सक्ने व्यवसायीहरू बताउँछन् ।
हाल काठमाडौंको बजारमा सबै वस्तुको अभाव सुरु भइसकेको अवस्था छैन । पर्याप्त मौज्दात भएका कारण केही दिनसम्म आपूर्ति व्यवस्थापन गर्न सकिने व्यवसायीहरूको भनाइ छ । तर, सडक अवरोध लामो समयसम्म कायम रहेमा मौज्दात घट्दै जाने र नयाँ सामान ल्याउन थप खर्च लाग्ने भएकाले मूल्यमा दबाब पर्न सक्ने देखिएको छ ।
भारत तथा तराईका विभिन्न बजारबाट काठमाडौंतर्फ चामल, दाल, तेललगायत खाद्यान्न बोकेर आउने सयौँ मालवाहक सवारी मुख्य राजमार्गमै रोकिएका छन् । नयाँ सामान नियमित रूपमा भित्रिन नसक्दा बजारमा रहेको मौज्दात क्रमशः घट्ने र त्यसपछि वैकल्पिक मार्गबाट महँगो ढुवानी गर्नुपर्ने अवस्था आउन सक्छ । व्यापारीको अतिरिक्त लागत थोक हुँदै खुद्रा मूल्यमा समेत जोडिन सक्ने सम्भावना छ ।
सबैभन्दा तत्काल प्रभाव तरकारी तथा फलफूलको आपूर्तिमा देखिएको छ । पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौंको कालीमाटी बजारमा तरकारी तथा फलफूलको दैनिक आपूर्ति घटेको छ । भारत हुँदै आउने कतिपय वस्तुको दैनिक आगमन ९२ प्रतिशतसम्म घटेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ ।
काठमाडौंको तरकारी बजार बाहिरी जिल्लाको उत्पादन तथा लामो दूरीको ढुवानीमा ठूलो मात्रामा निर्भर छ । मुख्य सडकमा अवरोध आएपछि बजारमा सामानको मात्रा घट्नुका साथै ढुवानी लागत पनि बढ्छ । वैकल्पिक सडक प्रयोग गर्दा इन्धन, चालक खर्च र यात्रा समय बढ्ने भएकाले त्यसको असर तरकारीको थोक मूल्य हुँदै उपभोक्ताले तिर्ने खुद्रा मूल्यसम्म पुग्न सक्छ ।
सडक अवरोधको असर किसानमा पनि पर्न सक्ने देखिएको छ । काठमाडौंमा तरकारीको मूल्य बढे पनि त्यसको समान अनुपातमा किसानले बढी मूल्य पाउने अवस्था नहुन सक्छ । उत्पादन क्षेत्रबाट बजारसम्म सामान पुर्याउन नसक्दा किसानको उत्पादन खेतमै वा स्थानीय बजारमा थुप्रिन सक्छ । उता काठमाडौंमा भने त्यही वस्तुको अभाव हुन सक्छ । यसले उत्पादक र उपभोक्ताबीचको मूल्य अन्तर अझ फराकिलो बनाउने जोखिम हुन्छ ।
ग्यास आपूर्तिमा विशेष जोखिम
खाना पकाउने एलपी ग्यासको आपूर्ति पहिल्यै दबाबमा रहेका बेला मुख्य सडक अवरुद्ध भएपछि समस्या थप संवेदनशील बनेको व्यवसायीहरूले बताएका छन् । उद्योगमा रहेको मौज्दातका आधारमा बजारमा सिलिन्डर पठाउनुपर्ने अवस्था रहेकाले मागअनुसार नियमित आपूर्ति गर्न कठिन भइरहेको उनीहरूको भनाइ छ ।
सडक अवरोधका कारण ग्यासको आधिकारिक मूल्य तत्काल बढ्नैपर्छ भन्ने अवस्था नभए पनि उपलब्धता घट्नु र वितरण लागत बढ्नु प्रमुख जोखिमका रूपमा देखिएको छ । यही कारण नेपाल आयल निगम र ग्यास उद्योगहरूले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँमा ग्यास तथा पेट्रोलियम पदार्थ पुर्याउने तयारी अघि बढाएका छन् ।
सडक विभागले अत्यावश्यक मालवाहक सवारीका लागि वीरगन्ज–हेटौँडा–भैँसे–पालुङ–नौबिसे हुँदै आउने त्रिभुवन राजपथ, बीपी राजमार्ग, कान्तिलोकपथ तथा कुलेखानी क्षेत्रका सडक प्रयोग गर्न सुझाएको छ । तर, यी वैकल्पिक मार्गले मुख्य राजमार्गको क्षमतालाई पूर्ण रूपमा प्रतिस्थापन गर्न नसक्ने भएकाले ढुवानी क्षमता र लागत दुवै चुनौती बनेका छन् ।
यसैबीच, चाडबाड नजिकिँदै गर्दा खाद्यान्न, तरकारी, ग्यासलगायत दैनिक उपभोग्य वस्तुको माग बढ्ने सम्भावना छ । सामान्य अवस्थामा आपूर्ति घट्दा मात्र मूल्यमा दबाब पर्छ । तर, आपूर्ति कमजोर हुनुका साथै मागसमेत बढेमा बजारमा प्रभाव अझ तीव्र हुन सक्छ ।
व्यवसायीहरूका अनुसार मुख्य राजमार्ग छिट्टै सञ्चालनमा आए मौज्दात र वैकल्पिक आपूर्तिबाट बजार धान्न सकिन्छ । तर अवरोध लम्बिँदै गए मौज्दात घट्ने, ढुवानी लागत बढ्ने र चाडबाडको अतिरिक्त माग थपिने भएकाले बजारमा मूल्यवृद्धिको दबाब बढ्न सक्छ ।
यद्यपि, अहिले नै उपभोक्ताले आत्तिएर अत्यधिक मात्रामा सामान सञ्चय गर्नुपर्ने अवस्था नरहेको व्यवसायीहरूले बताएका छन् । बजारमा अभावको मनोविज्ञान सिर्जना हुन नदिन नियमित आपूर्ति कायम राख्नु र वैकल्पिक मार्गबाट ढुवानीलाई प्रभावकारी बनाउनु अहिलेको प्रमुख चुनौती बनेको छ ।

