Banijya News

जनउत्थान लघुवित्तद्वारा बाढीपीडितका लागि चार लाख सहयोग

1
1.0K Shares

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रु. ४ लाख आर्थिक सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रदान गरिएको रकमको चेक संस्थाका अध्यक्ष डा.मानबहादुर बीके, सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बरालले नेपाल सरकार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई हस्तान्तरण गरे । सोही अवसरमा उनीहरुले मन्त्री सीता बादीलाई भेटी रकम हस्तान्तरणका साथै थप राहत संकलन गर्ने संस्थाको योजना बारे जानकारी गराए ।

विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि राज्यद्वारा सञ्चालन भइरहेका प्रयासमा संस्थाको तर्फबाट समेत सहयोग पुर्‍याउने उद्देश्यले उक्त आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष डा.मान बहादुर बीकेले बताए ।

यसै सन्दर्भमा संस्थाले बाढी प्रभावितहरूको सहयोगार्थ आफ्ना कर्मचारीहरूको एक दिन बराबरको तलब तथा भत्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ । साथै, संस्थासँग आबद्ध सदस्य तथा उनीहरूका परिवार प्रभावित भए/नभएको पहिचान गर्न आवश्यक तथ्यांक संकलन गर्ने, प्रभावित व्यक्तिको खोज तथा उद्धारमा सहजीकरण गर्ने र स्वेच्छिक रूपमा राहत रकम वा जिन्सी सहयोग गर्न चाहने सदस्यहरूबाट सम्बन्धित शाखा मार्फत सहयोग संकलन गरी प्रभावित क्षेत्रमा पुर्‍याउने व्यवस्था मिलाइएको छ । संस्थाले आफ्नो रणनीतिक योजना अन्तर्गत विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्व सम्बन्धी जनचेतनामूलक कार्यक्रम समुदायस्तरमा सञ्चालन गर्दै आइरहेको छ ।

यसै क्रममा बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति संस्थाले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणालीको निर्माण भन्ने मुख्य अभियानका साथ २०६७ सालमा स्थापित यस संस्थाले वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका र पारीएका समुदायमा सामुदायिक वित्तीय सेवा पुर्‍याउने र समुदायमा रहेको रैथाने शिप तथा पेशालाई लक्षित गरी लगानी प्रवद्र्धन गर्दै आइरहेको छ । हाल पर्सादेखि कञ्चनपुरसम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरुसँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयमार्फत सामुदायिक वित्तीय सेवा पुर्‍याइरहेको छ ।

1

Scroll to Top