पछिल्लो छ कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से आज मंगलबार सामान्य अंक बढेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ९.२४ अंक बढेर २५२२.६६ विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । आज जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशत बढेको छ । कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सर्वाधिक १.०० प्रतिशत घटेको छ ।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । हिजो सोमबार ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ७.१५ प्रतिशत बढेको छ । त्यस्तै, एमबीएल इक्विटी फण्डको इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ । कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.४८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १३ करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको साढे १३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम १० करोड रुपैयाँ नाघेको छ ।


