Banijya News

घरायसी उपभोक्तालाई ग्यास सहज बनाउन व्यवसायीमाथि निगमको लगाम

1
1.0K Shares

काठमाडौं उपत्यकामा घरायसी उपभोक्तालाई एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा तत्काल रोक लगाएको छ । निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक लगाएपछि अब उपत्यकाका होटल, रेस्टुरेन्ट, उद्योग तथा अन्य व्यावसायिक प्रतिष्ठानले अब ग्यास उद्योगसम्म पुगेर आफैं खरिद गरी ढुवानी गर्नुपर्ने भएको छ ।

निगमको नयाँ व्यवस्थाअनुसार उपत्यकाका डिपो तथा विक्रेतामार्फत व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास खरिद गर्न पाइने छैन । सीमित आपूर्तिका कारण घरायसी उपभोक्ताले ग्यास पाउन समस्या नहोस् भन्ने उद्देश्यले व्यावसायिक क्षेत्रको खपतलाई छुट्टै व्यवस्थापन गर्न यस्तो निर्णय गरिएको निगमले जनाएको छ । ठूलो परिमाणमा ग्यास खपत गर्ने होटल, उद्योग तथा अन्य व्यावसायिक प्रतिष्ठानका कारण घरायसी उपभोक्तामाथि आपूर्ति दबाब नपरोस् भन्ने निगमको उद्देश्य रहेको छ ।

नयाँ व्यवस्थाअनुसार ठूला होटल, उद्योग तथा व्यावसायिक प्रतिष्ठानले हेटौंडा, चितवन, नवलपरासीलगायत उपत्यकाबाहिर रहेका ग्यास उद्योगमा पुगेर आवश्यक परिमाणमा ग्यास सीधै खरिद गर्न सक्नेछन् । तर, ग्यास ढुवानीका लागि आवश्यक सवारीसाधन र अन्य व्यवस्थापन व्यवसायी आफैंले गर्नुपर्नेछ ।

यससँगै उपत्यकामा व्यावसायिक प्रयोजनका लागि बाहिरी जिल्लाबाट ल्याइएका ग्यास सिलिन्डर बिक्री–वितरणमा समेत रोक लाग्ने भएको छ । अर्थात् हेटौंडा, चितवन, नवलपरासीलगायत जिल्लाबाट काठमाडौं भित्र्याइएका सिलिन्डरसमेत व्यवसायीलाई बिक्री गर्न पाइने छैन ।

निगमको निर्णयले व्यावसायिक क्षेत्रको ग्यास आपूर्ति लागत भने बढ्न सक्ने देखिएको छ । व्यवसायीले उद्योगसम्म पुग्ने तथा ग्यास ढुवानी गर्ने थप खर्च बेहोर्नुपर्नेछ । तर, निगमले तत्कालका लागि घरायसी उपभोक्ताको हित र नियमित आपूर्तिलाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था गरिएको स्पष्ट पारेको छ ।

1

Scroll to Top