Banijya News

भोटेकोशी बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना क्षतिग्रस्त

1
1.0K Shares

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार आएको विनासकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब रु. ६४ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार, बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । ती आयोजनामा मात्रै रु. ४ करोड ११ लाख ५० हजार बराबरको क्षति भएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार, धादिङका २०, गोरखाका पाँच र रसुवाका आठ वटा खानेपानी आयोजना बाढीबाट क्षतिग्रस्त भएका छन् । क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भने अझै जारी रहेको विभागले जनाएको छ । पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा पुनर्निर्माण तथा पुनःस्थापनाका थप कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा तत्काल सेवा सञ्चालन गर्न विभागले वैकल्पिक स्रोत र उपकरण परिचालन गरेको छ । विशेषगरी विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा पानी वितरण सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ । उक्त जेनेरेटरमार्फत दैनिक करिब पाँच लाख लिटर खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

त्यस्तै, एक एचपी क्षमताका सात वटा पम्प सञ्चालनमा ल्याएर बट्टार क्षेत्रका करिब ५०० घरपरिवारमा खानेपानी सेवा पुनः सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)सँगको समन्वयमा भदौ १२ गतेदेखि चार वटा ट्यांकरमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा खानेपानी वितरण भइरहेको महानिर्देशक श्रेष्ठले बताए ।

बाढी प्रभावित त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी क्षेत्रमा सेवा विस्तार गर्न आवश्यक सामग्रीसमेत व्यवस्थापन गरिएको छ । विभागका अनुसार, दुई एचपी र एक एचपी क्षमताका गरी १४ वटा पम्प, एक हजार लिटर क्षमताको हिलटेक ट्यांकी तथा करिब ४१.१ किलोमिटर एचडीपीइ पाइप तयारी अवस्थामा राखिएको छ ।

क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाका लागि प्राविधिक टोली निरन्तर परिचालन गरिएको विभागले जनाएको छ । तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनालाई समेत प्राथमिकता दिइएको र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न आवश्यक काम अघि बढाइएको विभागले जनाएको छ ।

1

Scroll to Top