पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको नियमित आपूर्ति प्रभावित बनेको छ । सडक अवरोधका कारण ग्यास बुलेट उद्योगसम्म पुग्न नसक्ने अवस्था आएपछि उद्योगीहरूले वैकल्पिक माध्यमबाट उपत्यकामा ग्यास आपूर्ति बढाएका छन् ।
उपत्यकामा ग्यासको अभाव हुन नदिन चितवन, मकवानपुर, बारा, पर्सा, नवलपुर र धनुषालगायत जिल्लामा सिलिन्डर भरेर काठमाडौँ पठाउन थालिएको हो । सामान्य अवस्थामा उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने गर्छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार पछिल्ला तीन दिनमा मात्रै करिब ९३ हजार सिलिन्डर उपत्यकामा पठाइएको छ । बिहीबार २४ हजार, शुक्रबार ३४ हजार र शनिबार ३५ हजार सिलिन्डर काठमाडौँ पठाइएको संघले जनाएको छ ।
नेपाल आयल निगमले उपत्यकाबाहिर सिलिन्डर भरेर ल्याउने अनुमति दिएपछि बिहीबारदेखि नै वैकल्पिक व्यवस्थामार्फत ढुवानी सुरु गरिएको हो । नियमित आपूर्ति अवरुद्ध हुँदा उपत्यकामा ग्यासको माग र आपूर्तिबीच उत्पन्न दबाब कम गर्न यस व्यवस्थाले सहयोग पुगेको उद्योगीहरूको भनाइ छ ।
चितवनका ग्यास उद्योगलाई काठमाडौँको आपूर्ति व्यवस्थापनमा प्रमुख आधार बनाइएको छ । चितवनस्थित नेपाल, एचपी, त्रिवेणी, बाबा, श्री र साईबाबा ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाडौँ पठाइएको छ । त्यस्तै नवलपुरको गैँडाकोटबाट जानकी र श्रीराम, बारा–पर्साबाट सीताश्री, श्रीमाया र लियो, पर्सा तथा धनुषाबाट हिमाल र सगर तथा हेटौँडाबाट एभरेस्ट र सुगम ग्यास आपूर्ति भइरहेको संघले जनाएको छ ।
सरकारी लगानीको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि वैकल्पिक व्यवस्थाबाट ग्यास आपूर्ति थालेको छ । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि धादिङको जुगेखोलास्थित कर्पोरेसनको एलपीजी प्लान्टमा ग्यास बुलेट पुग्न नसकेपछि निजी क्षेत्रका सहज स्थानमा रहेका मनोज र बाबा ग्यासका प्लान्टसँग सहकार्य गरी एसटिसीका खाली सिलिन्डरमा ग्यास भरेर काठमाडौँ पठाइएको हो ।
यद्यपि, वैकल्पिक व्यवस्थाबाट आपूर्ति सहज बनाउन खोजिए पनि यसको प्रत्यक्ष असर उपभोक्ताको मूल्यमा परेको छ । निगमले उपत्यकाबाहिर ग्यास भरेर ल्याइएका सिलिन्डरको बिक्री मूल्यमा अतिरिक्त ढुवानी तथा अन्य लागत समायोजन गर्न साविक मूल्यभन्दा रु. १०५.३८ बढी लिन अनुमति दिएको छ ।
यससँगै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु. २,१६५.३८ पुगेको छ । यसअघि ग्यासको बिक्री मूल्य प्रतिसिलिन्डर रु. २,०६० थियो ।

