Banijya News

बाढी र सडक अवरोधले भन्सार राजस्वमा धक्का, ५५ किलोमिटर सडक पूर्ण क्षतिग्रस्त

1
1.1K Shares

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढी र पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा सडक भासिएपछि भएको आपूर्ति अवरोधले भन्सार राजस्वमा समेत प्रतिकूल असर परेको छ । रसुवागढी नाका प्रभावित भएपछि चीनतर्फबाट हुने आयात–निर्यात प्रभावित हुँदा राजस्व संकलनमा कमी आएको अर्थ मन्त्रालयले जनाएको हो ।

प्रतिनिधिसभाको अर्थसमिति बैठकमा विपद्बाट भएको क्षतिबारे जानकारी गराउँदै अर्थसचिव डा. घनश्याम उपाध्यायले रसुवागढी नाकाको आपूर्ति ठप्प भएपछि भन्सार राजस्वमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको बताए । रसुवागढीको विकल्पका रूपमा कोरला नाकामा थप जनशक्ति परिचालन गरी भन्सार तथा आपूर्ति व्यवस्थापन सहज बनाउने प्रयास गरिएको उनले जानकारी दिए । तर, कृष्णभिरमा सडक भासिएपछि त्यसले आपूर्ति प्रणालीमा थप समस्या सिर्जना गरेको उनको भनाइ छ ।

अर्थसचिव उपाध्यायका अनुसार, बाढीबाट बेत्रावती–रसुवागढी सडकखण्डको ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । गल्छी–देवीघाट सडकखण्डको चार किलोमिटर कालोपत्रे सडकमा आंशिक क्षति पुगेको छ भने देवीघाट–त्रिशूली–बेत्रावतीको १० किलोमिटर सडकमा समेत क्षति पुगेको छ ।

बाढी र पहिरोबाट सडकसँगै पुल तथा अन्य पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ । चार जिल्लामा ३३ वटा मोटरेबल पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने चारवटा पुलमा आंशिक क्षति पुगेको छ । त्यस्तै, ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको अर्थ मन्त्रालयले जनाएको छ । पूर्ण तथा आंशिक क्षति पुगेका पक्की पुलको कुल लम्बाइ करिब ३ हजार मिटर रहेको छ ।

वित्तीय क्षेत्रमा पनि विपद्को प्रभाव परेको छ । १२ वटा बैंकका १७ शाखा पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । व्यापार तथा उद्योगतर्फ ४ हजार ८ सय व्यापारिक प्रतिष्ठानमा क्षति पुगेको छ । बाढीबाट १ हजार ८०६ हेक्टर कृषियोग्य जमिन तथा १३ वटा जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन् ।

त्यस्तै, २५ वटा सिँचाइ आयोजना क्षतिग्रस्त भएका छन् । होटल तथा रेस्टुरेन्टतर्फ १ हजार २५९, थोक तथा खुद्रा व्यापारतर्फ १ हजार २१२, विद्युत्, ग्यास तथा पानीसँग सम्बन्धित ३४५ आयोजना, उत्पादनमूलक उद्योग २६३ र अन्य सेवा क्षेत्रका २२७ क्रियाकलापमा गम्भीर क्षति पुगेको छ ।

शैक्षिक क्षेत्रतर्फ हेर्ने हो भने १८ विद्यालयका ५६ भवन र ३०८ कक्षाकोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । निजी आवासतर्फ ७ हजार ५७० भवनमा पूर्ण तथा आंशिक क्षति पुगेको छ । सरकारीतर्फ क्षतिग्रस्त ४८ भवनमध्ये ३५ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

अर्थसचिव उपाध्यायले विपद्पछिको पुनःस्थापना तथा राहतका लागि प्रधानमन्त्री राहत कोषमा देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको जानकारीसमेत दिएका छन् ।

1

Scroll to Top