कालिञ्चोक दर्शनले १२औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले साधारणसभा आउँदो असोज १६ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा हुनेछ ।
सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ६३ करोड रुपैयाँको कुल ८.९४७४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ८.५ प्रतिशतले हुन आउने ५ करोड ३५ लाख ५० हजार रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४४७४ प्रतिशतले हुन आउने २८ लाख १८ हजार ४२१.०५ रुपैयाँबराबरको नगद लाभांश छन् ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले असोज ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको असोज ९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
त्यस्तै, सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।
सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । सभाले कम्पनीको व्यावसायिक क्षेत्र विस्तार तथा लगानी विविधीकरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ । सभाले सञ्चालकको नियुक्ति बाँकी अवधिका लागि अनुमोदन गर्नेछ ।

