Banijya News

ग्यास अभावबारे उद्योगीसँग छलफल गर्दै उद्योगमन्त्री साह

1
1.0K Shares

बजारमा एलपी ग्यासको सहज आपूर्ति हुन नसकी उपभोक्ताले सास्ती खेपिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास उद्योगी तथा सम्बन्धित सरोकारवालासँग छलफल गर्ने भएका छन् ।

मन्त्री साहले ग्यासको आपूर्ति तथा वितरण प्रणालीमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल गर्न आज साँझ ५ बजे ग्यास उद्योगीहरूलाई मन्त्रालयमा बोलाएका हुन् ।

पछिल्लो समय ग्यास खरिदका लागि उपभोक्ताले लामो समयसम्म लाइनमा बस्नुपरेको तथा कतिपय स्थानमा कालोबजारीसमेत बढेको गुनासो आएपछि मन्त्रालयले आपूर्ति व्यवस्थालाई प्राथमिकतामा राखेको हो ।

बैठकमा बजारमा देखिएको ग्यास अभावको अवस्था, आपूर्ति व्यवस्थापन, वितरण प्रणालीमा रहेका कमजोरी तथा उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउने विषयमा छलफल हुने बताइएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले बजारमा देखिएको ग्यासको वर्तमान समस्याबारे उद्योगीहरूले मन्त्रीसमक्ष आफ्नो धारणा राख्ने बताए । उनका अनुसार बैठकमा ग्यासको सहज वितरण र आपूर्तिसँग सम्बन्धित व्यावहारिक समस्याबारे गम्भीर छलफल हुनेछ ।

चन्दले बजारमा ग्यासको अवस्था बुझ्न सुरक्षा निकाय र वाणिज्य विभागको संयुक्त टोलीले अनुगमन गरिरहेको जानकारी दिए । तर, अनुगमनसँगै वितरण प्रणालीमा रहेका व्यावहारिक समस्या पहिचान गरी त्यसको समाधान गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

ग्यास उद्योगीहरूका अनुसार आपूर्ति नियमित रहे पनि वितरणका क्रममा देखिने अवरोध, बजार व्यवस्थापन तथा अनुगमन प्रभावकारी हुन नसक्दा उपभोक्ताले समस्या भोग्नुपरेको हो ।

पछिल्लो समय ग्यासको माग र वितरणबीच देखिएको असन्तुलनले बजारमा समस्या बढाएको भन्दै उद्योगीहरूले आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन सरकार, उद्योगी र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताएका छन् । मन्त्रीसँगको छलफलबाट तत्कालीन समस्या समाधानका साथै दीर्घकालीन रूपमा ग्यास वितरण प्रणाली सुधार गर्ने विषयमा समेत ठोस पहल हुने अपेक्षा गरिएको छ ।

1

Scroll to Top