साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से शुक्रबार दोहोरो अंकले बढेर बन्द भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारमा देखिएको कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएसँगै बजार बढ्न टेवा पुगेको हो । विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण बजारमा समस्या देखिएको उल्लेख गर्दै उनले अब अवस्थालाई थप बिग्रन नदिने गरी सरकारले नीतिगत सुधार अघि बढाउने स्पष्ट पारेका थिए ।
शुक्रबार नेप्से परिसूचक २७.९४ अंक बढेर २५५९.४९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.९८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४३ अंक बढेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८३ प्रतिशत बढेको छ । त्यस्तै, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन बिहीबार ४ अर्ब ९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज शुक्रबार ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १०.५३ प्रतिशत बढेको छ । त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ । आज मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक ५.७१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड ६६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ ।

