Banijya News

नेपाल ल्युब आयलले १४ प्रतिशत बोनससहित हकप्रद ल्याउने

1
1.0K Shares

नेपाल ल्युब आयल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल २०.०२५४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनस सेयर र ६.०२५४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न आगामी असोज १९ गते सोमबार वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुने कम्पनीले जनाएको छ ।

साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेस हुनेछ । साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावमा पनि छलफल हुनेछ। कम्पनीका सहायक कम्पनीहरूको वित्तीय विवरण पनि सभामा स्वीकृतिका लागि पेस गरिनेछ ।

यस्तै, बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीका आधारमा १ः२ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव कम्पनीले अघि सारेको छ । हकप्रदबाट प्राप्त पुँजी व्यवसाय विस्तार तथा आवश्यक पूँजीगत व्यवस्थापनमा उपयोग गर्ने कम्पनीको योजना छ ।

हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डलगायत सम्बन्धित निकायबाट स्वीकृति लिने तथा आवश्यक प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ । साथै, अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न आवश्यक संशोधनसम्बन्धी प्रस्तावमाथि पनि निर्णय हुनेछ ।

1

Scroll to Top