गत भदौ १० गते रसुवा र आसपासका भोटेकोशी तथा त्रिशूली नदी प्रभावित क्षेत्रमा आएको विनाशकारी बाढीले कृषि क्षेत्रलाई ठूलो क्षति पुर्याएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरएनडिए) प्रतिवेदनअनुसार बाढीबाट धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति भएको हो ।
प्रतिवेदनअनुसार, प्रभावित स्थानीय तहमा धान खेतीतर्फ मात्रै एक हजार ६६९ हेक्टर क्षेत्रफल प्रभावित भएको छ । यसबाट पाँच हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ । यस्तै, १३७ हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब एक हजार ८४३ टन तरकारी उत्पादनमा क्षति भएको छ ।
धान खेतीमा नुवाकोटका स्थानीय तह सबैभन्दा बढी प्रभावित भएका छन् । विदुरमा मात्रै ७०० हेक्टर धान खेती प्रभावित हुँदा दुई हजार ४५० टन उत्पादनमा क्षति पुगेको छ । लिखुमा २३० हेक्टर क्षेत्र प्रभावित हुँदा ८०५ टन र बेलकोटगढीमा २०० हेक्टर क्षेत्र प्रभावित हुँदा ७०० टन धानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, धादिङको बेनीघाट रोराङमा २५ हेक्टर, गजुरीमा ७५ हेक्टर, सिद्धलेकमा ५८ हेक्टर र गल्छीमा ८७ हेक्टर धान खेती प्रभावित भएको छ । रसुवाको गोसाइँकुण्डमा १४० हेक्टर र उत्तरगयामा १४३ हेक्टर धान खेतीमा बाढीको असर परेको छ ।
तरकारी खेतीतर्फ पनि नुवाकोटको विदुरमा सबैभन्दा ठूलो क्षति भएको छ । विदुरमा ९८ हेक्टर क्षेत्रफल प्रभावित हुँदा अनुमानित एक हजार ३२३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ । धादिङको बेनीघाट रोराङमा नौ हेक्टर, गजुरीमा सात हेक्टर, सिद्धलेकमा दुई हेक्टर र गल्छीमा १४ हेक्टर तरकारी खेती प्रभावित भएको छ ।
पशुधनमा एक अर्ब ११ करोडको क्षति
बाढीले पशुपन्छी क्षेत्रमा पनि ठूलो आर्थिक क्षति पुर्याएको छ । प्रतिवेदनअनुसार दुई लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन् । पशुपन्छीको क्षतिको अनुमानित मूल्य एक अर्ब ११ करोड ३९ लाख रुपैयाँ रहेको छ ।
संख्याका आधारमा कुखुरा सबैभन्दा धेरै प्रभावित भएका छन् । बाढीबाट दुई लाख १४ हजार ८२७ कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको ८५.१ प्रतिशत हो । तर, मूल्यका आधारमा कुखुराको क्षति कुल पशुधन क्षतिको ४.८ प्रतिशत मात्रै रहेको छ ।
भैँसीतर्फ चार हजार ५७२ वटा प्रभावित हुँदा ४५ करोड ७२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । बाख्रा तथा च्याङ्ग्रामा ३९ करोड १३ लाख, गाईगोरुमा १७ करोड ९२ लाख, बंगुर तथा बँदेलमा एक करोड ९६ लाख र अन्य पशुमा एक करोड चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । भेडामा २५ लाख, कुखुरामा पाँच करोड ३७ लाख र अन्य चरामा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनले देखाएको छ ।
कुल पशुधन क्षतिमध्ये भैँसी, बाख्रा/च्याङ्ग्रा र गाईगोरुबाट मात्रै ९२.३ प्रतिशत क्षति भएको छ । यसले बाढीले कृषकको उत्पादन प्रणालीसँगै ग्रामीण आम्दानी र पशुपालनमा आधारित अर्थतन्त्रमा समेत गम्भीर असर पारेको देखाउँछ । कृषि उत्पादन र पशुधन पुनःस्थापना गर्न तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माण तथा पुनरुत्थान कार्यक्रम आवश्यक देखिएको छ ।


