Banijya News

किस्पाङका अध्यक्ष वीरबलविरुद्ध बैंकिङ कसुर र ठगीका दस मुद्दा !

1
1.0K Shares

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठकमा उपस्थित भएर निस्किने क्रममा पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा मुद्दामा अनुसन्धान भइरहेको खुलेको छ ।

सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहले राखेको बैठकमा अध्यक्ष तामाङ पनि सहभागी भएका थिए र बैठकलगत्तै उनलाई सिंहदरबारबाटै पक्राउ गरिएको थियो ।

अरुण अर्यालको जाहेरीबाट तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो । पछिल्लोपटक काठमाडौं जिल्ला अदालतबाट प्रहरीले तामाङलाई पक्राउ गर्न अनुमति लिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी खोजतलास गर्ने क्रममा हनुमानथानबाट बैंकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला नुवाकोट, किस्पाङ गाउँपालिका–३ घर भई जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका–१६ नयाँबजार बस्ने वीरबल तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङको सीआरएस अभिलेख जाँच गर्दा बैंकिङ कसुर र ठगीका १० मुद्दा भेटिएको छ र उनीमाथि सबै मुद्दामा अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ ।

मुद्दाहरूको कुल बिगो ९ नौ करोड ८ लाख ३५ हजार रुपैयाँ कायम भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङमाथि यी सबै मुद्दाहरूमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

1

Scroll to Top